यसरी कम गर्न सकिन्छ आत्महत्याको दर (भिडियोसहित) « Nagarik Khabar

यसरी कम गर्न सकिन्छ आत्महत्याको दर (भिडियोसहित)



  • निम्लेकी शेर्पा

काठमाडौं । चालु आर्थिक वर्षमा नौ महिनामा तीन हजार ९५७ जनाले आत्महत्या गरेको तथ्यांक छ । यो तथ्यांकअनुसार नेपालमा प्रत्येक महिना १३२ जनाले आत्महत्या गरिरहेका छन् । तीमध्ये झुण्डिएर दुई हजार ९४० र विष सेवन गरेर ९२६ जनाले आत्माहत्या गरेको छन् ।

मनोविद् गोपाल ढकालका अनुसार आत्महत्याको प्रमुख कारण मानसिक रोग अर्थात डिप्रेशन हो । आत्महत्या नेपालमा मात्र नभई विश्वका लागि नै विकराल बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार बर्सेनि करिब १० लाख मानिस आत्महत्या गर्छन् । सन् २०२० सम्ममा यो संख्या करिब २० लाख पुग्ने अनुमान गरिएको छ ।

आत्माहत्या गर्नेमध्ये ९५ प्रतिशत मानसिक रोगी हुने गरेको मनोविद ढकालको भनाइ छ । उनका अनुसार मानसिक रुपमा पीडित व्यतिmले योजनाअनुसार नै आत्महत्या गर्दछन् । कतिपयले आवेगमा आएर पनि आत्महत्या गर्दछन् ।

नेपालको कानुनअनुसार आत्महत्या पनि अपराध हो । आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई कानुनी कारवाही हुन्छ । प्रहरी प्रधान कार्यलयको तथ्याङकअनुसार नेपालमा हुने अपराधमध्ये आत्महत्या सबैभन्दा धेरै हुने गरेको छ । यसपछि संगठिन अपराध दोस्रोमा र तेस्रोमा महिला हिंसा रहेको छ ।

आर्थिक वर्ष (आव) २०७५७६ को नौ महिनामा तीन हजार ९२९ सांगठनिक अपराध र तीन हजार ११७ महिला हिंसाका घटनाहरु भएका छन् । तर, आत्महत्या तीन हजार ९५७ जनाले गरेका छन् । आर्थिक वर्ष २०७४/७५ मा पाँच हजार ३१७ जनाले आत्महत्या गरेको तथ्यांक छ। तीमध्ये झुण्डिएर तीन हजार ८६८ र विष सेवन गरेर उक हजार ३६३ छन् ।

यस्तै, आव २०७३/७४ मा पाँच हजार १२४ जनाले आत्महत्या गरेको तथ्यांक छ । तीमध्ये झुण्डिएर तीन हजार ७६१ र विष सेवन गर्ने एक हजार २१५ छन् । आव २०७२/७३ सालमा चार हजार ६८० जनाले आत्महत्या गरेको तथ्यांक छ । तीमध्ये झुण्डिएर तीन हजार ३७६ र विष सेवन गरेर एक हजार १८६ आत्महत्या गरेका छन् ।

आव २०७१/७२ मा चार हजार ३३२ जनाले आत्महत्या गरे । जसमा झुण्डिएर तीन हजार १०५ र विष सेवन गरेर एक हजार ९० को मृत्यु भयो । यस्तै, आव २०७०÷७१ मा आत्महत्या गर्ने चार हजार ५०४ जनामध्ये तीन हजार ८० झुण्डिएर र एक हजार ३०७ जनाले विष सेवन गरेको पाइएको छ ।

कम गर्न सकिन्छ आत्महत्याको दर

आत्महत्याको तथ्यांक डर लाग्दो भए पनि यो दरलाई कम गर्ने उपाय पनि छ । आत्महत्या मानसिक रोगका कारण हुने गर्दछ । त्यसैले मानसिक रोगको उपचार गरे आत्महत्याको दरलाई कम गर्न सकिने मनोरोग विशेषज्ञ ढकालको भनाइ छ ।

जाँडरक्सी, लागुऔषधको कुलतमा रहेका मानिसले आत्महत्या रोज्ने गरेको पाइन्छ । त्यसैले यस्ता कुलतमा फसेकाहरुको समयमै उपचार गर्नुपर्ने ढकालको सुझाव छ ।

यस्तै, पहिले आत्महत्याको प्रयास गरेका, दीर्घरोग लागेका, मानसिक वा आर्थिक रुपमा पीडितजस्ता जोखिममा रहेकाहरुले पनि आत्महत्या गर्ने गरेको अध्ययनले देखाएको छ । त्यसैले यस्ता व्यक्तिहरुको मनोपरामर्श आवश्यक पर्दछ ।

पछिल्लो समय मानिसको व्यस्तताका कारण ज्येष्ठ नागरिकहरु घरमा धेरै समय एक्लै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले उनीहरुमा एक्लोपनका महसुस हुने गरेको छ । यस्तो अवस्थाले पनि ज्येष्ठ नागरिकले आत्महत्या रोज्ने गर्दछन् । त्यसैले ज्येष्ठ नागरिकलाई एक्लोपन हुनबाट टाढै राख्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: