कस्ले गर्यो पूर्वराजदूत झाको हत्या ? « Nagarik Khabar

कस्ले गर्यो पूर्वराजदूत झाको हत्या ?



काठमाडौं । पूर्वराजदूत केशवराज झाको हत्या भएको नौ महिना भइसकेको छ। तर उनको हत्या कसले ग‍र्यो भन्ने रहस्य खुलेको छैन। धारिलो हतियार प्रहार गरी हत्या गरिएका झाको शव उनी सुत्ने पलङ्मा फेला परेको थियो। झा हत्याको अनुसन्धानमा अहिले पनि महानगरीय प्रहरी अपराध महाशाखा खटिएको छ।

प्रहरीले झाको सुरक्षा गार्ड र मालीलाई पक्राउ गरी अनुसन्धान गरे पनि ‘सुराक’ फेला पारेको छैन। बबरमहलस्थित घरमा झा दम्पती बस्थे। छोरा–बुहारी आयरल्याण्डमा बस्छन्।

प्रहरीले कामदार र सुरक्षा गार्डमाथि पोलीग्राफ परीक्षण गरे पनि मेल खाएन। झाको मोबाइलको कल डिटेल हेर्दा उनलाई ‘अननोन’ नम्बरबाट फोन आएको पनि देखिएन। परिवार भित्रै पनि प्रहरीले अनुसन्धान गरेको थियो। तर पनि हत्याको कुनै आधार फेला परेन। झालाई फोनमा धम्की आएको परिवारले थाहा नपाए पनि उनी ‘सुरक्षा थ्रेटमा’ रहको तथ्य प्रहरीले फेला पारेको छ।

झा हत्याको तीन दिनपछि ओच्छ्यानमा सिक्सर पेस्तोल फेला परेको थियो। परिवारले ओच्छ्यानमा भेटिएको पेस्तोल राजदूत हुँदा उनलाई उपहार आएको जानकारी गराएको छ।महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले झा हत्याको गम्भीर ढंगले अनुसन्धान भइरहेको बताए। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: