६ घण्टामा ३ स्थानमा आगलागी, १९ लाखको क्षति « Nagarik Khabar

६ घण्टामा ३ स्थानमा आगलागी, १९ लाखको क्षति



काठमाडौं । करिब ६ घण्टाको अवधिमा देशका ३ स्थानमा आगलागी हुँदा करिब १९ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सोमबार दिउसो १ बजेदेखि राती ७ बजे सम्मको सो अवधिमा रुपन्देही, उदयपुर र स्याङजामा भएका छुट्टाछुट्टै आगलागीमा उक्त परिमाणको धनमाल क्षति भएको हो ।

आगलागीका घटनामा भएका उक्त क्षतिमध्ये रुपन्देही शुद्धोधन गाउँपालिका ७ वर्लवा बस्ने रामसुरज पटेलले खेतमा गहुको नलमा आगो लगाई छाडेको अवस्थामा उक्त आगो सल्किएर सोही ठाउँ बस्ने बेचनी पटेलको घरमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी उदयपुर ताप्ली गाउँपालिका(३ बस्ने शम्सेर बहादुर तामाङ र कटक बहादुर तामाङको घरमा आगलागी हुँदा नगद ७० हजार रुपैयाँ समेत जलेर करिब ४ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी स्याङजा कालिगण्डकी गाउँपालिका(५ ताप बस्ने ८६ वर्षीय बली भद्र घर्तीको घरमा आगलागी हुँदा घर जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सबै स्थानमा आगो नियन्त्रणमा आएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकरी समेत गराएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: