काठमाडौं‌को टोलटोलमा जुवा अखडा, ६ महिनामा एक हजार पक्राउ « Nagarik Khabar

काठमाडौं‌को टोलटोलमा जुवा अखडा, ६ महिनामा एक हजार पक्राउ



काठमाडौं । काठमाडौंका टोलटोलमा जुवा अखडा सञ्चालनमा रहेको भेटिएका छन् । मिनी क्यासिनोको रुपमा सञ्चालित ती अखडामा प्रहरीले धमाधम छापा मार्दै जुवाडेहरु पक्राउ गर्न थालेको छ । जुवाको खालमा राखेको रकम समेत बरामद गरेको छ ।

सोमबार राति मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजु वसन्तनगरस्थित लमजुङ घर भएका ५७ वर्षीया देउकुमारी गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा देउकुमारीसहित ६ जनालाई पक्राउ गरेको छ। उनीहरुकाे साथबाट नगद २३ हजार ८८० रुपैयाँ बरामद गरिएको छ। त्यस्तै, काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सुनसरी घर भएका ३४ वर्षीय हरि लिम्बुको हार्मोनियम गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत नौ जनालाई नगद ७१ हजार ५ सय ५५ रुपैयाँ र चार बुक तास बरामद गरेको थियो ।

प्रहरीले काठमाडौमा मात्रै ६ महिनाको अवधिमा करिब एक हजार जनालाई पक्राउ गरी जुवा ऐनअन्तर्गत कारवाही अघि बढाएको छ । गत भदौमा मुलपानीस्थित एक मिनी क्यासिनोमा छापा मार्दा दुई जनाको ज्यानै गएको थियो । त्यहाँबाट चार लाख रुपैयाँभन्दा बढी रकम बरामद भएको थियो ।

वैशाखसम्मको हिसाब गर्ने हो भने प्रहरीले करिब एक हजार जना जुवाडेहरुलाई पक्राउ गरिसकेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले चालू आर्थिक वर्षको ६ महिनामा ८६० जना जुवा खेल्ने र खेलाउनेलाई पक्राउ गरेको तथ्यांक दिएको तर त्यसमा चैत र वैशाखको तथ्यांक भने समावेश गरिएको छैन ।

महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकाका तीन जिल्लाबाट चालू आवमा ती व्यक्तिहरू पक्राउ परेका हुन् । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने व्यक्तिहरूलाई पक्राउ गरेको महानगरीय आयुक्त कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले बताए ।

उनका अनसार एक महिनाअघि ३० वर्षीय श्यामकुमार बिकको किराना पसलमा जुवातास खेलिरहेका चन्द्रागिरी नगरपालिका-१५ का ४१ वर्षीय नवराज विश्वकर्मासमेत पाँच जनालाई नगद ११ हजार ६० रुपैयाँ नगदसहित पक्राउ गरेको थियो । यसैगरी काठमाडौ महानगरपालिका-९ सिनामंगलस्थित लोकबहादुर प्रधानको फर्निचर उद्योगमा जुवातास खेलिरहेका कागेश्वरी मनहरा-७ का ५७ वर्षीय शिव थापा समेत नौ जनालाई १ लाख १ हजार ३ सय ५० रुपैयाँसहित पक्राउ गरेको थियो । डिआइजी थापाले भने, ‘हामीले कही न कही कुनै कुनै हप्ता जुवाडे पक्राउ गरेका छौ सबै तथ्यांक मातहत निकायबाट आउन बाकी नै छ ।’

महानगरीय प्रहरी कार्यालयअन्तर्गत रहेका काठमाडौं, भक्तपुर र ललितपुर पक्राउ पर्नेमध्ये काठमाडौंबाट ६३२, भक्तपुरबाट १८८ र ललितपुरबाट ४० रहेका छन् । तीमध्ये काठमाडौं ८०, ललितपुर तीन र भक्तपुरका सातलाई मुद्दा दायर गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

पक्राउ परेकामध्ये काठमाडौँबाट साउनमा तीन, भदौमा आठ, असोजमा ११, कात्तिकमा ९, मङ्सिरमा ९, पुसमा ८, माघमा ९ र फागुनमा २३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, भक्तपुरबाट भदौमा दुई, असोजमा दुई, पुसमा एक र माघमा दुई तथा ललितपुरबाट असोजमा दुई र कात्तिकमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

प्रहरीले उपत्यकामा जुवातास खेल्ने तथा खेलाउनेसँग चालू आवमा मात्र एक करोड छ लाख ९७ हजार नगद समेत बरामद गरेको छ । बरामद भएको रकममध्ये काठमाडौँबाट ९२ लाख ३५ हजार, ललितपुरबाट एक लाख चार हजार र भक्तपुरबाट १३ लाख ५८ हजार रहेको प्रवक्ता ज्ञवालीले बताए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जुवातासले मानिसको भविष्य नै समाप्त पार्नसक्ने भन्दै उपत्यका प्रहरीले जुवातासमा विशेष कडाइ गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: