काठमाडौं । सरकारले गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । उनले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताए ।
मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने बताए ।
उनले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको औंल्याए । सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महँगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी गरिरहेको जानकारी दिए ।