मिडिया काउन्सिलसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी : प्रमुख सचेतक खाँड « Nagarik Khabar

मिडिया काउन्सिलसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी : प्रमुख सचेतक खाँड



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ सरकारले मिडिया काउन्सिलसम्बधी विधेयक ल्याएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभूति गर्छु भन्ने सरकारले विधेयक ल्याउँदा मौलिक अधिकारलाई नै कुण्ठित गर्ने खालको ल्याएको आरोप लगाएका छन् । सरकार संविधानमा उल्लिखित व्यवस्था विपरीत सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको उनको टिप्पणी छ ।

संविधानको धारा १७ को १ क मा विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र सञ्चारको हक पनि राखिएको उल्लेख गर्दै उनले सरकार त्यसविरुद्ध गएको आरोप लगाए । ‘हजुरको सरकारले विधेयक ल्यायो । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,’ उनले भने, ‘यो विधेयकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको छ । त्यसैले यो फर्काएर लैजानुहोस् भन्ने हाम्रो आग्रह छ ।’

मानवअधिकारको स्वायत्तता र स्वतन्त्रता खण्डित गर्ने खालको मानवअधिकार विधेयकलाई पनि फिर्ता लैजान कांग्रेसको माग छ । खाँडले बजेट बनाउँदा संविधानले गरेको व्यवस्थालाई कार्यान्वयनमा लैजाने गरी ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘सम्माननीय सभामुखज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, र हजुरको सरकारलाई बजेट बनाउँदा संविधान पढेर मौलिक अधिकार कार्यान्वयन अगाडि लाने खालको बजेट बनोस् ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: