पहिलो जितको खोजीमा मनाङ « Nagarik Khabar

पहिलो जितको खोजीमा मनाङ



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब एसियाली फुटबल महासंघ (एएफसी) कप फुटबलको समूहगत चरणको खेलमा अझै जितविहीन छ । समूहगत चरणमा तीन खेल खेलिसकेको मनाङ मात्रै एक अंक जोडेर चार टोली सम्मिलिन समूह ईको चौथो स्थानमा सीमित छ ।

मनाङको समूहमा भारतका दुई टोली मिनर्भा पञ्जाब र चेन्नइन तथा बंगलादेशको ढाका अबहनी रहेका छन् । अबाहनीसँग नेपालमै खेलेको मनाङले १–० को पराजय व्यहोरेको थियो । यस्तै, चेन्नइनविरुद्ध उसको मैदानमा मनाङ २–० ले पराजित हुन पुग्यो ।

गत मे एक तारिखमा मिनर्भा पञ्जाबसँग उसकै मैदानमा २–२ गोलको बराबरी खेलेपछि भने मनाङले पहिलो अंक बटुलेको हो । यो अवस्थामा मनाङलाई दोस्रो चरण प्रवेश मुस्किल देखिएको छ । विशेष गरी समूहको विजेता एक टोली सीधै दोस्रो चरणमा छनोट हुने प्रावधान रहेकाले मनाङको आगामी यात्रा मुस्किल देखिएको हो ।

यो अवस्थामा मनाङले बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको मैदानमा मिनर्भाविरुद्व खेल्दैछ । मनाङले यही खेलमा जित हात पार्दै आफू प्रतिस्पर्धामा फर्कने योजना बनाएको छ ।

प्रतियोगिताको एक दिनअघि आयोजित ‘प्रिम्याच कन्फरेन्स’मा मनाङ र मिनर्भाका प्रशिक्षक र खेलाडीको दावी यस्तो रह्यो ।

०००

विराज महर्जन, कप्तान मनाङ मस्र्याङदी क्लब

दोस्रो चरणको छनोट सम्भावना अझै जीवितै छ । यद्यपि, त्यसका लागि हामीले बाँकी रहेका सबै खेलमा जित हात पार्न आवश्यक छ । त्यसैले हाम्रा लागि पछिल्ला तीनवटै खेल निक्कै महत्त्वपूर्ण छन् ।

यसअघिका खेलमा हामी आफ्नै गल्तीले गर्दा पराजित हुन पुगेका हौं । बुधबार मिनर्भालाई पराजित गर्दै पहिलो जित हात पार्ने उद्देश्यसहित मैदानमा ओर्लने छौं ।

छिरिङ लोप्साङ, प्रशिक्षक, मनाङ मर्स्याङदी क्लब

खेलाडीहरूले अहिलेसम्म राम्रै खेलिरहेका छन् । यद्यपि, प्राप्त अवसर सदुपयोग गर्न नसक्दा जित सम्भव भएको छैन । हामी बुधबार अघिल्ला खेलमा गरेका ती गल्तीहरूलाई सच्याएर राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने छौं ।

हामीले अघिल्ला खेलभन्दा यस पटक टिम फर्मेशन पनि परिवर्तन गरेका छौं । आक्रमणको क्षेत्रमा अलि बलियो बनाएका छौं । त्यसैले हामीले बुधबार मिनर्भाविरुद्व जित हात पार्नेमा विश्वस्त छौं ।

करिम ओमोलाजा, खेलाडी, मिनर्भा पञ्जाब

हामी मनाङविरुद्व तीन अंककै लागि खेल्ने छौं । समूह अझै सबै टोलीका लागि खुला छ । अझै निरन्तर जित हात पारेको अवस्थामा कुनै पनि टोली छनोट हुन सक्ने छन् ।

मनाङ पनि नेपाल च्याम्पियन टोली हो । त्यसैले खेलमा जे पनि हुन सक्छ । तर, हाम्रो उद्देश्य जित नै हुनेछ ।

सचिन बड्डाढे, प्रशिक्षक, मिनर्भा पञ्जाब

हामी मनाङविरुद्व बुधबारको खेललाई लिएर सकारात्मक छौं । हाम्रो लक्ष्य निश्चय पनि जितेर तीन अंक लिने नै हुने छ । यद्यपि मनाङविरुद्व उसको मैदानमा खेल्दै छौं । मनाङ पनि राम्रो टोली हो । बुधबार मनाङविरुद्व प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरेको छु ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: