रुप फेर्दै दशरथ रंगशाला (भिडियो र फोटोसहित) « Nagarik Khabar

रुप फेर्दै दशरथ रंगशाला (भिडियो र फोटोसहित)



काठमाडौं । दशरथ रंगशाला, नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय रंगशाला हो । यो रंगशाला अन्तर्राष्ट्रिय स्तरमै नेपालको इज्जतसँग जोडिएको छ ।

यस रंगशालामा विभिन्न देशका खेलाडी वा टोलीले खेलेका छन् । यति मात्र होइन, विश्व चर्चित गायक ब्रायन आडम्सलगायतले कन्सर्ट पनि गरेका छन् । विदेशी खेलाडी र चर्चित कलाकारले प्रस्तुति दिएको उक्त रंगशालाको चर्चा पनि त्यहीअनुसार भएकै हो । यही रंगशाला पछिल्लो समय प्रकृतिको प्रहारबाट थिलोथिलो भएको छ ।

सन् १९८८ मा दशरथ रंगशालामा ठूलो दुर्घटना भयो । काठमाडौंका दुई क्लबबीच भएको फुटबल खेलका बेला आएको हावाहुरीमा भाग दौड मच्चिँदा ९३ जनाले ज्यान गुमाएका थिए । उक्त घटना हुनुमा रंगशालाको भौतिक संरचना पनि मुख्य थियो ।

यस घटनामा राम्रोसँग निर्माण भइनसकेको रंगशालाका कारण खेल हेर्न आएका धेरैले अकालमै ज्यान गुमाएका थिए । त्यसपछि बारम्बर पुनर्निर्माण गरिएको दशरथ रंगशाला २०७२ बैशाख १२ गतेको महाभूकम्प र त्यसपछि आएको पराकम्पले थिलोथिलो भएको छ ।

२०७२ बैशाखको भूकम्पका कारण दशरथ रंगशालाको पश्चिमतर्फको भीआइपी प्यारापिट ध्वस्त बन्यो । त्यसभित्र रहेका विभिन्न खेलका टे«निङ सेन्टरहरू प्रयोग गर्न नमिल्ने भए । रंगशालाभित्रको फुटबल मैदान प्रयोगविहीन बन्यो । त्यस वरिपरिका ट्रयाक त्यसअघिनै उप्किएर विरूप भइसकेका थिए ।

त्यही दशरथ रंगशाला अहिले भने फरक स्वरुपमा ब्युतिने प्रयास गरिरहेको छ । खेलकुदका सम्बन्धित निकायले यसै वर्ष नेपालले आयोजना गर्ने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग)लाई लक्षित गरी रंगशालाको पुनर्निर्माणलाई तीव्रता दिइएको छ । त्यसैले दशरथ रंगशालालाई चाँडै नै नयाँ स्वरुपमा देख्न पाइने भएको हो ।

सन् १९५६ मा चिनियाँ सरकारले सहयोगमा निर्माण गरिएको दशरथ रंगशालाको पुनर्निर्माणमा पनि चिनियाँ सरकारले सहयोग छ । निर्माणमा चिनियाँ कामदारहरूले रहेका छन् ।

रंगशालाको भीआईपी प्यारापिट निर्माण पूरा भएको छ । त्यसमाथि छानो राख्ने काम भने बाँकी छ । साथै, सेन्थेटिक ट्रयाक बिछ्याउने काम पनि भइरहेको छ । साधारण प्यारापिततर्फ राखेप आफैँले छानो हाल्ने काम गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: