दिगो विकासको अवधारणालाई बजेटले आत्मसात् गर्छ : अर्थमन्त्री खतिवडा « Nagarik Khabar

दिगो विकासको अवधारणालाई बजेटले आत्मसात् गर्छ : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासको अवधारणालाई बजेटले आत्मसात् बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले द्वन्द्व नबढाउने, शान्ति प्रक्रियालाई बलियो बनाउने, असमानता घटाउने, पुँजीले श्रमको शोषण नगर्ने र भएको आर्थिक वृद्धिको समन्यायिक वितरण लाई बजेटले आत्मसात् बताएका हुन् ।

उनले क्षेत्रगतभन्दा नीतिगत प्राथमिकतालाई बजेटले समेट्ने बताए । उनले भने, ‘खास वर्ग र क्षेत्रबाट निर्देशित आर्थिक वृद्धि अर्थात् वित्तीय पुँजीवाद र प्रविधिमा आधारित पुँजीवादले श्रमको शोषण गर्ने भएकाले दिगो हुँदैन ।’

आर्थिक वृद्धिको आधार फराकिलो भए मात्रै दिगो विकास हुने उनको भनाइ छ । आर्थिक वृद्धि सँगसँगै सामाजिक न्याय र वितरण प्रणाली तथा सबैलाई सामाजिक संरक्षण र सुरक्षाजस्ता राज्यका निर्देशक सिद्धान्तबाट नै बजेट निर्देशित हुने मन्त्री खतिवडाले प्रष्ट्याए ।

उनले सरकारले अपनाएको राजनीतिक, आर्थिक प्रणाली तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धभित्र रहेर बजेटको मोडल तयार गर्नुपर्ने बताए । आर्थिक वृद्धिविनाको वितरण गरिबीको मात्रै वितरण हुने, आर्थिक वृद्धि न्यायोचित नभए दिगो नहुने र अन्ततः त्यसले बढाउने असमानताले द्वन्द्व निम्त्याउने तर्क उनको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: