संसदीय समितिमा झाँक्रीको प्रश्न, पण्डितको उत्तर (भिडियोसहित) « Nagarik Khabar

संसदीय समितिमा झाँक्रीको प्रश्न, पण्डितको उत्तर (भिडियोसहित)



काठमाडौं । प्रतिनिधिसभाका सांसद रामकुमारी झाँक्रीले सबै तहका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्न माग गरेकी छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाकी सांसद झाँक्रीले कर्मचारीलाई कार्य सम्पादन सम्झौता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था तत्काल लागु गर्न सरकारसँग माग गरेकी हुन् ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपाकी सांसद झाँक्रीले तल्लो तहको कर्मचारीलाई कार्य सम्पादन सम्झौता नगर्ने विधेयकको प्रावधान सच्चाउनु पर्नेमा जोड दिइन् ।

तल्लो तहमा कार्यरत मन्त्रालयकै कर्मचारी आफ्नो कामप्रति जवाफदेही नभएको उल्लेख गर्दै उनले त्यस्ता कर्मचारीलाई कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिइन् ।

समिति बैठकमा अर्का सदस्य प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडुले सबै तहका कर्मचारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउन पनि कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था अनिवार्य गर्नुपर्ने तर्क गरे ।

सांसदहरको प्रश्न सुनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने बोझिलो हुने भएकाले तल्लो तहका कर्मचारीलाई कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था नगर्ने गरी विधेयक ल्याइएको प्रष्टीकरण दिए ।

उनले तल्लो तहको कर्मचारीले कार्य सम्पादन गरे/नगरेको माथिल्लो तहबाट निगरानी हुने भएकाले त्यसका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक नहुने मन्त्रालयको निष्कर्ष रहेको पनि उनले सुनाए ।

मन्त्री पण्डितले माथिल्लो तहका कर्मचारीहरुले विशेष जिम्मेवारी पनि पाउने भएकाले उनीहरुको हकमा भने अनिवार्य कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था विधेयकमा प्रस्ताव गरिएको प्रष्टीकरण दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: