अमेरिकामा आतङ्कवादलाई संरक्षण गरेर समाचार लेखे मृत्युदण्ड दिइन्छ : सञ्चार मन्त्री बास्कोटा « Nagarik Khabar

अमेरिकामा आतङ्कवादलाई संरक्षण गरेर समाचार लेखे मृत्युदण्ड दिइन्छ : सञ्चार मन्त्री बास्कोटा



चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने प्रतिवद्धता जनाएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको मंगलबार उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए ।

सरकार प्रेसप्रति पूर्वाग्राही नभएको उल्लेख गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको दाबी गरे । अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको भन्दै उनले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको स्मरण गराए ।

सामाजिक न्यायको हिसाबले पनि विषयलाई हेर्नुपर्नेछ भन्दै उनले पेश गरिएका र पेश गर्न लागेका कानूनी कुरा स्वस्थ, मर्यादित र जिम्मेवार भएर अन्तर्राष्ट्रिय प्रचलन हेरेर पेश गरिरहँदा त्रुटि देखिएमा भने ती कुरालाई हमेसा स्वागत गरिने बताए ।

अरु नै मनमा कुरा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘बहिष्कार आदि इत्यादिको अर्थ छैन । सत्ता लुछेर, कु गरेर आएको चिज होइन । यो जनताद्वारा निर्वाचित सरकार हो ।’ संवाद भने जरुरी रहेको र गर्नुपर्ने उनले बताए । उनले भने, ‘सत्ता हेरेर कानून बन्दैन, लोकतन्त्र हेरेर कानून बन्नुपर्छ, संविधान हेरेर कानून बन्नुपर्छ ।’

शान्ति, सुशासन, समृृद्धि र राजनीतिक स्थिरतालाई भत्काउने केही तत्व सक्रिय छन् भन्दै उनले प्रश्न गरे, ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’ यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो वा प्रचारक हो भन्ने प्रश्न गर्दै उनले भने, ‘के संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न सक्छ, छेक्न मिल्छ ?’

समाचार लेखेर कोही पनि पक्राउ पर्दैन भन्दै उनले गलत मिशनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: