नेपाली रोप फिक्सिङ टोलीद्वारा सिजनकै पहिलो सगरमाथा आरोहण « Nagarik Khabar

नेपाली रोप फिक्सिङ टोलीद्वारा सिजनकै पहिलो सगरमाथा आरोहण



काठमाडौं । नेपाली रोप फिक्सिङ टिमले यस सिजनमा पहिलो पटक सगरमाथा आरोहण गरेको छ । टिमले मंगलबार सगरमाथा आरोहण गरेको हो ।

टोली मंगलबार दिउँसो १ः४५ मा सगरमाथाको आरोहण गरेको सगरमाथा आधार शिविरबाट लेजेन्ड अफिसर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । अनुभवी आरोहीको टोलीले साउथ कोलबाट आरोहण गर्न रुटमा रोप फिक्स गरेको हो ।

आरोही सिद्धिबहादुर तामाङको नेतृत्वमा आठ जनाको टोलीले रोप फिक्स गर्न सफल भएको छ । माडिसन माउन्टेनेरिङ एभरेष्ट एक्सपेडिसन २०१९ नाम दिइएको रोप फिक्स गर्ने कार्यक्रम यो वर्ष हिमालयन गाइड नेपालले गरेको छ ।

सगरमाथा आरोहण पूर्व हरेक वर्ष सर्वोच्च शिखरसम्म विशेष टोलीले डोरी टाङ्ने (रोप फिक्सिङ) गर्छ । त्यही डोरीको सहायतामा आरोहीले सगरमाथाको आरोहण गर्छन् । रोप फिक्स अर्थात् डोरी टाँगिएसँगै यस वर्ष आरोहणका लागि बाटो खुलेको छ ।

संसारको सर्वोच्च शिखर ८,८४८ मिटर चुम्नका लागि दर्जनौं आरोहण दल विभिन्न क्यापमा बसेका छन् । झन्डै ७ हजार ९०० मिटर उचाइमा रहेको चौथो शिविरसम्म डोरी टाँग्ने काम वैशाख १८ मै सकिएको थियो ।

तिब्बततर्फ रहेको सगरमाथाको उत्तरी मोहडामा भने डोरी टाँग्न बाँकी छ । त्यसतर्फ आइतबार डोरी टाँग्न गएको टोली मौसम अनुकूल नभएको भन्दै फर्किएको थियो । टोलीमा तामाङसहित पासादावा शेर्पा, दोर्जी ग्याल्जेन शेर्पा, पासाङ दावा शेर्पा, दावा नुर्बु शेर्पा, मिङ दोर्जे शेर्पा, आङ फुर्वा शेर्पा, साङ्बु भोटे लामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: