काठमाडौं। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा नतिर्ने डेढ सय सहकारीको अचल सम्पत्ति रोक्का गर्न सुरु गरेको छ। युवालाई स्वरोजगार बनाउने नाममा कोषबाट सहुलियत ब्याजदरमा लिएको कर्जा निर्धारित समयमा नतिरेपछि कोषले मुलुकभरका एक सय ४८ सहकारीको सम्पत्ति रोक्का गर्न पत्राचार गरेको हो।
तीमध्ये ८४ वटा सहकारीको घरजग्गा रोक्का भइसकेको छ। बाँकीको रोक्का हुने क्रममा छ। कोषका अनुसार यी सहकारीले करिब १९ करोड ४३ लाख रुपैयाँ तिर्न बाँकी छ।कोषले सहकारी, सञ्चालक, व्यक्तिको घरजग्गासहित अन्य सेवा सुविधासमेत रोक्का गरेको छ। कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले सम्झौताअनुसार कर्जा नतिरेपछि कारबाही अघि बढाएको जानकारी दिए।
‘बैंकबाट विपन्न क्षेत्रको कर्जा ल्याएर लगानी गरेका हौं,’ गौतमले भने, ‘पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि सम्पत्ति र सेवा–सुविधा रोक्का ग(यौं।’ कोषले तीन पुस्तेसहित सम्पत्ति रोक्का गर्न सम्बन्धित जिल्लाका मालपोत कार्यालयमा पत्राचार गरेको थियो। केही सहकारीको स्थानीय तहले दिने सेवा–सुविधासमेत रोक्का गर्न पत्राचार गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।