कामिरिताको विश्व कीर्तिमान : २३औं पटक सगरमाथा आरोहण « Nagarik Khabar

कामिरिताको विश्व कीर्तिमान : २३औं पटक सगरमाथा आरोहण



काठमाडौं । हिमाल आरोही कामिरिता शेर्पाले आज विहान २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान तोडेका हुन ।कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ः५० बजे सगरमाथाको शिखरमा पुगेका हुन ।

उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्स रहेको छ । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् । यो घोषणाले अझै दुईपटक सगरमाथा आरोहण गर्ने उनको उदेश्य रहेको देखिन्छ ।

को हुन कामिरिता ?

सोलुखुम्बूको हालको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा जन्मेका ४९ बर्षीय कामिरिताले २०५१ अघि २२ बर्षकै उमेरमा दुईपटक चुचुरोमा पुग्ने प्रायस गरेका थिए । तर उनी त्यसबेला दुईपटक नै असफल भएका थिए । आफ्ना माइला भिनाजु र दाइको लहलहैमा पर्वतारोहणमा लागेका उनी २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक चुचुरोमा पुग्न सफल भए । त्यसयता उनले आजसम्म गरी २३ पटक सगरमाथा अरोहण गरेका छन् ।

जसमध्ये उनले १ पटक तिब्बतबाट आरोहण गरेका थिए । काठमाडौंको बौद्धमा बस्दै आएका कामिरिताले २०६५, ०६९ र ७० सालको वसन्तकालिन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरेका थिए । तर, ०६९ सालको दुईपटकको उनको चुचुरोसम्मको यात्रामध्ये एउटाले मात्रै सरकारी मान्यता पाएको थियो । उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण अहिले विश्राम लिइरहेका छन् । उनीहरुको परिवारनै हिमाल आरोहणमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: