विद्यार्थी दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी (भिडियोसहित) « Nagarik Khabar

विद्यार्थी दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी (भिडियोसहित)



 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरेका छन ।

५०औं विद्यार्थी एकता दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गर्नु भएको हो । उहाँले आगामी आर्थिक वर्षमा गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सांसददेखि संसदसँगको बहसलाई तीव्रता दिइएको दावी पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले दुवै विद्यार्थी संगठनहरुलाई आम विद्यार्थीहरुको गर्विलो संगठनको रुपमा स्थापित गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

 

५५ औं विद्यार्थी एकता दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा दुई संगठनबीचको एकतामा ढिलाई नहुने प्रतिवद्धतासहितको नारा पनि घन्काइएको थियो ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाकाजी श्रेष्ठले सहादत प्राप्त गर्नु भएको भूगोलपार्कमा पुगेर समापन गरिएको थियो । २०२१ जेठ १ गते तत्कालीन विद्यार्थी संगठनहरुले निकालेको प्रदर्शनमाथि तत्कालीन पञ्चायती शासकले दमन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष जेठ १ गते अर्थात् आजकै दिन विद्यार्थी एकता दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: