काठमाडौं । यातायात कार्यालयले सवारी लाइसेन्सको ट्रायलमा सेटिङ मिलाएर पास गराउने गरेको पाइएको छ । सेवाग्राहीहरुले ट्रायल दिने तर कसलाई पास गराउने र कसलाई फेल गराउने भन्ने विषय पहिला नै निधो भइसक्ने गरेको एक अनुभवीले बताएका छन् ।
लामो लाइनमा बसेर बल्लतल्ल पुगेका सेवाग्राहीहरुले ट्रायल लिन बसेकाहरुबाट हैरानी मात्र खेप्नु पर्दैन, उनीहरुको सेटिङमा नपरेकाकाहरुलाई अभद्र व्यवहार गर्दै फेल गराउने गरेको एक सेवाग्राहीले बताए ।
जीपी शर्मा (नाम परिवर्तन) सरकारी कर्मचारी नै हुन् । उनी सिनियर अधिकृत हुन् । उनी पनि यातायात कार्यालयले लिने गाडीको ट्रायल दिन पुगेका थिए । ट्रायल दिँदै गरेको दृश्य देखेर उनी तीनछक परे । उनले सो सेटिङमा पास गराएको देखेपछि उनैले अख्तियारमा समेत उजुरी दिएका छन् ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीमा लेखेको छ– ‘ट्रायल सेन्टरहरुका धनी, यातायात कार्यालयका कर्मचारी, सवारीका प्रशिक्षक, ट्राफिक प्रहरी समेतको संलग्नता सवारी साधनको ट्रायल परीक्षामा सिसिटिभीमा रेकर्ड नहुने गरी रकम असुली (करिब रु. १५,०००) गरी ट्रायल पासमा मद्दत उपलब्ध गराउने गरिएको छ ।’
ती सरकारी कर्मचारीले नै अख्तियारमा लेखेको निवेदनको सारंस यस्तो छ–
काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिरकाअन्य यातायत कार्यालयहरुमा हिजोआज गाडीको नयाँ लाइसेन्सको ट्रायल परीक्षामा भ्रष्टाचार हुने गरेको पाइएको छ । स्रोतको अनुसार ट्रायल सेन्टरहरुका धनी, यातायात कार्यालयका कर्मचारी, सवारीका प्रशिक्षक, ट्राफिक प्रहरी समेतको संलग्नता सवारी साधनको ट्रायल परीक्षामा सिसिटिभीमा रेकर्ड नहुने गरी रकम असुली (करिब रु. १५,०००) गरी ट्रायल पासमा मद्दत उपलब्ध गराउने गरिएको छ ।
यसको प्रकृया यस्तो रहने गरेको छः
– माथि उल्लिखित रकम तिरेपछि रकम तिर्ने व्यक्ति (जसले सामान्यरुपमा गाडी चलाउन जानेको छ तर पटक पटक दिँदा पनि ट्रायल पास गर्न सकेको छैन वा कन्फिडेन्स लुज गरेको छ) लाई कन्डिसनमा रहेको गाडी दिइन्छ (सामान्यतया उक्त गाडी त्यस्तो व्यक्तिलाई मात्र दिइन्छ) । त्यसबाटै सबै कर्मचारीहरुले बुझी हाल्छन् कि त्यो व्यक्तिले रकम तिरेको छ ।
– त्यसपछि उक्त व्यक्तिलाई ट्रायलको हरेक स्टेजमा नजिकै रहेका व्यक्तिहरु (ट्रायल सेन्टरहरुका कर्मचारी, यातायत कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी) ले मौखिकरुपमा ठूलो मद्दत गर्छन् । जस्तैः गाडीमा बस्ने वित्तिकै ऐना मिलाउनु, सिट बेल्ट बाध्नु भन्छन् । आठ घुमाउने बेलामा पनि लाइन छोइए पनि वास्ता नगर्ने, ट्राफिक बत्ती अब बाल्नु, निभाउनु भन्ने, उकालोमा दुईवटा लाइनको बीचमा रोक्न मौखिकरुपमा सहयोग गर्ने (जस्तैः अब रोक्नु, अझ अगाडि जानु, आदि), उकालोमा गाडी उठाउने बेलामा गियर र एक्सलेरेटर, ह्याण्ड बै्रकको तालमेल सिकाउने, गाडी अलिकति पछाडि गए पनि वास्ता नगर्ने, ओरालोमा पनि दुई लाइनको बीचमा रोक्न बोलेरै सहयोग गर्ने, एल व्याकमा कति अगाडि पुगेपछि रोक्ने भनेर बोलेरै सहयोग गर्ने, व्याक गर्दा अब गाडीको स्टेरिंग काट्नु, सीधा गर्नु भनी सिकाउने, आदि । यति मौखिक सेवा दिएपछि उनीहरुले भागशान्तिमा रकम पाँउछन् । साना साना गल्तीले फेल हुने हुँदा त्यो गल्ती हुन नदिन मौखिक सेवाको महत्वपूर्ण भुमिका हुन्छ ।
पैसा दिने व्यक्ति बाहेकलाई भने तिनीहरुले सानो सानो निहँु खोजेर फेल गर्छन्, कारण आम्दानी बढाउन ।