ओझेलमा किरात धर्मावलम्बीको मोक्षस्थल, सरकारले बेवास्ता गरेको गुनासो « Nagarik Khabar

ओझेलमा किरात धर्मावलम्बीको मोक्षस्थल, सरकारले बेवास्ता गरेको गुनासो



पाँचथर । किरात धर्मावलम्बीहरुले मोक्षस्थलको रुपमा लिइने लब्रेकुटी र सिलौटी पर्यटकीय दृष्टिले ओझेलमा छन् । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ किरात धर्मावलम्बीहरुले शक्तिपीठको रुपमा पूजाअर्चना गर्ने पाँचथरको फिदिम नगरपालिका–५ मा अवस्थित यी स्थानमा भौतिक पूर्वाधारको विकास भएको छैन ।

किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले फक्ताङलुङ (कञ्चनजङ्घा हिमाल)को दर्शनबाट किरातीहरुले मोक्ष प्राप्त गर्न सक्ने सन्देश समुदायमा फैलाएका थिए । फक्ताङलुङ दर्शन गर्न नसक्नेहरुले लब्रेकुटीको दर्शन गरे मोक्ष प्राप्त हुने उनको भनाइका आधारमा यो स्थानलाई किरात धर्मावलम्बीहरुले पवित्र धार्मिक स्थल मान्छन् ।

यी स्थानलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन पूर्वाधार विकास र प्रचारप्रसारमा सरकारले ध्यान नदिएको किरात साङ्सेन माङहिम लब्रेकुटीका पूर्वअध्यक्ष चन्द्रराज आङ्देम्बेको गुनासो छ । मेची राजमार्ग आसपासमा रहेका लब्रेकुटी र सिलौटीलाई विश्वसामु चिनाउने अवसर रहे पनि सरकारी बेवास्ताका कारण यी स्थान ओझेलमा परेको उनको भनाइ छ ।

फिदिम नगरपालिका–५ चोकमागुमा अवस्थित लब्रेकुटी र सिलौटी क्षेत्र महागुरु फाल्गुनन्द र यहाँ प्रतिपादित ‘सत्य धर्म मुचुल्का’का कारण किरात समुदायका लागि विशिष्ट छन् । लब्रेकुटीको संरक्षणमा सक्रिय किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटीका अध्यक्ष ध्रुवकुमार तुम्बापोका अनुसार फाल्गुनन्दले लब्रेकुटीमा निरन्तर १४ वर्षसम्म साधना गरेका थिए । उनले प्रयोग गरेका सामग्रीहरुसमेत यहाँ सुरक्षित छन् । उनले लब्रेकुटीबाट समाज सुधारको सन्देश फैलाएका थिए ।

फाल्गुनन्दले १९८८ साल वैशाख २४ गते तत्कालीन लिम्बुवान क्षेत्रका शासकहरुलाई भेला गराई ‘सत्य धर्म मुचुल्का’को घोषणा गराएका थिए । उक्त घोषणाले किरात समुदायको धार्मिक, सांस्कृतिक, सामाजिक र जीवन व्यवहारमा परिवर्तन ल्याएको थियो । विवाह, धार्मिक कार्यजस्ता क्रियाकलापहरुलाई समयानुकूल बनाउने, मद्यपान तथा मासुको सेवन घटाउने, विवादको शान्तिपूर्ण समाधान खोज्ने मुचुल्का उल्लेख छ ।

भाषाविद् हरिचन्द्र लावती फाल्गुनन्द अर्धईश्वरीय चेत प्राप्ति व्यक्ति भएको इतिहास अध्ययनबाट पत्ता लाग्ने बताउँछन् । ‘फाल्गुनन्दमा भएको अर्धईश्वरीय चेतकै कारण उहाँलाई माङ (भगवान्को) अवतारको रुपमा पूजा गर्न थालिएको हो,’ लावतीले भने, ‘उहाँलाई भगवानको अवतार मानिएकै कारण लब्रेकुटी र सिलौटी किरातका मोक्ष स्थलको रुपमा स्थापित भएका हुन् ।’

फाल्गुनन्दको हालको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा देहावसान भएको थियो । उनको समाधिस्थल सिलौटी डाँडामा रहेको छ । उनको समाधिस्थल सिलौटीमा अनुयायी तथा धर्मअनुरागीहरुले दैनिक जसो पूजाअर्चना गर्दछन् ।

फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापो स्थानीय तहको प्रयासले यी स्थान विश्वसामु चिन्न सक्ने गरी विकास र प्रचार हुन नसक्ने बताउँछन् । ‘यी स्थानको विकास र प्रचारमा हामीले प्राप्त बजेटको हिस्सा खर्च गरिरहेकै छौँ,’ तुम्बापोले भने, ‘यी स्थानलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन सङ्घीय र प्रदेश सरकारबाट ठूलो लगानी गरिनु आवश्यक छ ।’

प्राकृतिक रुपमै सुन्दर यी स्थानमा सडक, भ्यू टावर, विश्रामस्थल तथा आवास, खानेपानी, शौचालयजस्ता पूर्वाधार आवश्यक रहेको वडाध्यक्ष तुम्बापोको भनाइ छ । पूर्वाधारको विकाससँगै प्रचारमा जोड दिई पर्यटक आकर्षण गर्नेतर्फ तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको छ ।

लब्रेकुटी सिलौटी पर्यटन विकास समितिका सचिव सुवास तुम्बापो बर्सेनि सानो आकारमा बजेट प्राप्त हुँदा ठोस काम गर्न नसकिएको बताउँछन् । ‘नेपालका विभिन्न जिल्लाहरुसहित पूर्वोत्तर भारत, भुटान, माल्दिप्सलगायत मुलुकबाट किरात धर्मावलम्बीहरु आउनुहुन्छ,’ तुम्बापोले भने, ‘तर, पूर्वाधारको अभावमा उहाँहरुले यहाँबाट सकारात्मक सन्देश लैजान सक्नुभएको छैन ।’

विगत एक दशकमा सरकारी निकायहरुबाट ६० लाख रुपैयाँ बजेट यी स्थानका लागि छुट्याइएको छ । उक्त बजेट सडक निर्माण तथा स्तरोन्नति, केही पूर्वाधार निर्माण तथा व्यवस्थापनमै अपुग भएको तुम्बापोको भनाइ छ । धार्मिक कार्यहरु भक्तजनको भेटीबाट चलाउनुपरेको उनको भनाइ छ ।

तुम्बापोले भने, ‘मुन्धुम निशानहिम (मुन्धुम पढाइ हुने विद्यालय)लाई सरकारी स्तरबाट व्यवस्थित गर्नुपर्ने आवश्यकता छ ।’ यस्तै लिम्बू समुदायसँग सम्बन्धित वस्तुहरुको सङ्ग्रहालय निर्माण, घरबास निर्माण तथा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लब्रेकुटी र सिलौटीको विकास र धार्मिक पर्यटन प्रवर्द्धनका लागि छुट्टै सरकारी निकाय स्थापना आवश्यक रहेको औँल्याउँछन् । ‘विगतदेखि प्रत्येक वर्ष यी स्थानमा सानो वा ठूलो आकारमा बजेट विनियोजन भइरहेको छ तर, यहाँको विकासले गति लिन सकेको छैन,’ भण्डारीले भने, ‘यी स्थानको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राखेर छुट्टै निकाय स्थापनामा हाम्रो पार्टीले जोड दिइरहेको छ ।’ उनका अनुसार जिल्ला परिषद्मार्फत प्रदेश सरकारसँग उक्त प्रस्ताव अघि बढाइने छ ।

फाल्गुनन्दका विषयमा अध्ययन गर्दै आएका रमेश तुम्बापो फाल्गुनन्दबारे विस्तृत अध्ययन र प्रचारका लागि लब्रेकुटी र सिलौटी मात्रै उपयुक्त स्थान रहेको बताउँछन् । ‘फाल्गुनन्दबारे पर्याप्त खोज र अनुसन्धान गर्न सकिएको छैन, त्यस्ता खोज र अनुसन्धान लब्रेकुटी, सिलौटी लगायत क्षेत्रमा मात्रै सम्भव छ,’ तुम्बापोले भने, ‘फाल्गुनन्दबारे थप प्रकाश पार्न सकियो भने पाँचथरको पर्यटन विकासमा टेवा पुग्छ । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’

लब्रेकुटी र सिलौटीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकिएको छ । प्रतिवेदनमा लब्रेकुटी र सिलौटी क्षेत्रको ३४७ रोपनी क्षेत्रलाई व्यवस्थित गरी विभिन्न पूर्वाधार निर्माण गर्ने उल्लेख छ । प्रतिवेदनअनुसार उक्त क्षेत्रको धार्मिक पीठलाई प्राकृतिक रुपमै संरक्षण गर्दै विभिन्न संरचना निर्माण गरिने छ ।

यहाँ २०० फिट अग्लो फाल्गुनन्दको प्रतिमा बनाउने, उनीसँग सम्बन्धित तथा किरात धर्मावलम्बीका परम्परागत सामग्रीहरु राखेर सङ्ग्रहालय बनाउने, मुन्धुम निशानहिमलाई व्यवस्थित गर्ने, व्यवस्थित पार्क तथा भ्यू टावर बनाउने योजना अघि सारिएको छ । फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ उक्त विस्तृत परियोजना प्रतिवेदनका आधारमा यस क्षेत्रको विकासमा लाग्ने बताउँछन् ।

गत वर्ष सरकारले १०० नयाँ पर्यटकीय क्षेत्र घोषणा गर्दा यी स्थानलाई समेत समेट्दै ‘फाल्गुनन्द सर्किट’ को अवधारणा अघि सारेको हो । उक्त घोषणाले यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गर्छन् जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा ।

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले लब्रेकुटी र सिलौटीलाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न छुट्टै निकाय निर्माणको तयारी गरिरहेको बताउँछन् । ‘आगामी आर्थिक वर्षदेखि लब्रेकुटी र सिलौटी क्षेत्रको विकासका लागि बजेट विनियोजन हुन्छ,’ उनले भने, ‘लब्रेकुटी र सिलौटी क्षेत्रको विकास सबै दलको साझा चुनावी एजेण्डा हो । उक्त एजेण्डा कार्यान्वयन गर्न प्रदेश सरकार दृढ छ ।’ -रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: