‘अह‌ंकार नगरौं, हामीले ५५ प्रतिशत मत मात्र पाएका छौं’ (भिडियोसहित) « Nagarik Khabar

‘अह‌ंकार नगरौं, हामीले ५५ प्रतिशत मत मात्र पाएका छौं’ (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । युवा संघ नेपालको २९ औ वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा नेता नेपालले अहंकार, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डोर्याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाई लोकप्रिय बनाउनेतर्फ सरकारलाई सुझाव दिए ।

उनले बहुमतको अहंकारमा नपर्न पनि सरकारको ध्यानाकर्षण गरे । ‘प्रगति यथेष्ट छैन । अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौं । ख्याल गर्नुहोस् दुई तिहाइ होइन ।’ उनले भने, ‘धेरै जनताको विश्वास जित्न बाँकी छ । धेरै जनताको माझमा पुग्न बाँकी छ ।’

अहिले सम्पूर्ण कम्युनिष्ट नेताहरुको आचरण र व्यवहार परीक्षण भइरहेको भन्दै नेता नेपालले आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्नेतर्फ विचार पुर्‍याउन नेतृत्वको ध्यानाकर्षण गराए । सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दै संस्थागत नियम र विधिको पालना गरी संगठनात्मक जिम्मेवारी अघि बढाउन पनि उनको आग्रह छ ।

‘हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ । जनताका पीर, मर्कामा सहयोगी भयौं भने जनताको दुःखकष्टमा साथ दियांै, सुख रमायौँ भने जनताले हामीलाई मन पराउनेछन्,’ उनले अझै थपे, ‘जनताका समस्या, चाहाना के हुन् ? उनीहरु के भनिरहेका छन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु । हाम्रो बानी के भएको छ भने धेरै बोल्ने थोरै सुन्ने ।’

उनले सामाजिक न्यायसहितको समृद्धि मुट्ठीभरको जमातका लागि नभएको भन्दै शिक्षा, रोजगारी तथा जनतासँग जोडिएको गाँस, बासका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

समाजवादको कुरा गर्दा सोभियत संघ विघटन भएर पतन भएको, चीन ठूलो संकटमा पुगेर पनि नयाँ गतिका साथ अघि बढेको प्रसंग उल्लेख गर्दै उनले कमजोरी खोज्ने र हटाउने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: