भ्रमण वर्ष २०२० मा नेपाल घुम्न चिनियाँ नागरिकलाई उपराष्ट्रपतिको निम्तो « Nagarik Khabar

भ्रमण वर्ष २०२० मा नेपाल घुम्न चिनियाँ नागरिकलाई उपराष्ट्रपतिको निम्तो



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण वर्ष २०२० को निम्तो गरेका छन् । नेपाल भ्रमणको क्रममा शिष्टाचार भेटका लागि बुधबार दिउँसो उपराष्ट्रपति भवन पुगेका चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानसँगको भेटवार्तामा उपराष्ट्रपति पुनले चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको लागि आग्रह गरेका हुन् ।

‘नेपालको समृद्धिको एउटा आधार पर्यटन हो । हामीले २०२० लाई भ्रमण वर्ष मनाउँदैछौँ,’ उपराष्ट्रपति पुनले भने, ‘म यहाँ (गभर्नर) मार्फत चिनियाँ मित्रहरुलाई नेपाल भ्रमण वर्षमा भ्रमणमा आउन आग्रह गर्दछु ।’

उपराष्ट्रपतिले गभर्नर रेन्जियानसँगको भेटमा नेपाल र चीन शताब्दीऔँ पुराना साथी भएको बताए । दुई देशबीच भौगोलिक मात्र नभएर सांस्कृतिक, ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल चीनबीचको सम्बन्ध घनिष्ठ रहेको र जनस्तरसम्म फैलिएको बताए ।

भेटमा उपराष्ट्रपतिले नेपाल विकास र समृद्धिको मार्गमा अग्रसर रहेको बताउँदै नेपालको विकास र समृद्धिको यात्रामा असल छिमेकी भएको नाताले चीनको सदैव साथ सहयोग रहने अपेक्षा व्यक्त गरेको उनको सचिवलयले जनाएको छ । उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरण, जलविद्युत् उत्पादन वृद्धि, पर्यटनको विकास, खनिज पदार्थको उत्खनन् र पूर्वाधार निर्माण विकासको प्राथमिकतामा रहेको बताए ।

‘हामीले नेपाललाई छोटो समयमा विकसित र समृद्ध राष्ट्र बनाउने संकल्पका साथ अगाडि बढेका छौँ,’ उपराष्ट्रपति पुनले भने, ‘यसका लागि हामीले कृषि, पर्यटन, जलविद्युत्, खनिज, पूर्वाधार तथा व्यापारलाई हाम्रो समृद्धिको आधार मानेका छौँ । यी सबै क्षेत्रमा हामी चीनसँग सहकार्य चाहन्छौँ ।’

उपराष्ट्रपतिले गभर्नरसँगको भेटमा नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबाट बढी लाभ लिन खोजेको बताए ।

उपराष्ट्रपतिसँगको भेटमा कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले कान्सुका गर्भनर रेन्जियानले नेपालको कृषि व्यवसायलाई आधुनिकीकरणका लागि नमूना उत्पादनमा सहयोग गर्ने बताए ।

‘म नेपालको भ्रमण गर्दा प्रदेश ५ मा पुगेँ । त्यहाँ कृषिको आधुनिकीकरणको आवश्यकता छ । कान्सुको कृषि प्रविधि अति उच्च छ । हामी त्यसलाई यहाँ ल्याउन सक्छौँ,’ उनले भने, ‘केही महिनामा हामीले कृषिमा मोडन उत्पादन गर्न सक्छौँ ।’

गभर्नरले चीन र नेपालको सम्बन्ध घनिष्ठ र पुरानो भएको बताउँदै चीन र नेपालले विकासका लागि सहकार्य गर्नुपर्ने बताए । नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य हुने बताएका उनले अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदन प्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको बताए ।

उपराष्ट्रपतिसँगको भेटमा कान्सु प्रान्तका गभर्नर रेन्जियानसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: