विचारमा स्पष्टता नभए एकता चिरकालसम्म रहँदैन : पोखरेल (भिडियोसहित) « Nagarik Khabar

विचारमा स्पष्टता नभए एकता चिरकालसम्म रहँदैन : पोखरेल (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका नेता पोखरेलले युवा संघ नेपालको २९ औ वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा एकतावद्ध भएको पार्टी विचारमा प्रष्ट हुनुपर्ने धारणा राखे ।

विश्वमा भएका घटना नेपालमा पनि दोहोरिन सक्ने भन्दै उनले विचारको स्पष्टतालाई नेतृत्वले विशेष महत्त्व दिनुपर्नेमा जोड दिए । विचारमा स्पष्ट हुन नसके कम्युनिष्ट पार्टी एकतावद्ध भएर ठूलो बने पनि निर्णायक जित हासिल गर्न नसक्ने उनको तर्क छ ।

‘संसारमा हामीले देख्यौँ, कम्युनिष्ट पार्टीहरु ठूल–ठूला बने । राज्यसत्ता कब्जा गरे । शासन संचालन गरे,’ उनले भने, ‘तर ती कम्युनिष्ट पार्टीहरु पूँजीवादीहरुले एउटा पनि गोली प्रहार नगरिकन तासका महल ढलेजस्तो भएर ढले । हाम्रो एकतावद्ध भएको कम्युनिष्ट पार्टी कुनै हालतमा पनि त्यस्तो हुनुहुन्न । हामी सबैले यसमा खबरदारी गर्नुपर्ने जरुरी छ ।’

आर्थिक विकास र समृद्धिको कुरा गरिरहँदा ठोस नीति, कार्यक्रम, योजना र आचरण प्रष्ट हुनुपर्नेमा नेता पोखरेलको जोड छ । राजनीतिक कार्यदिशाले सम्बोधन गर्ने विषय सार्थक ढंगले आउन नसके पार्टी एकढिक्का भए पनि दिशाहीन अवस्थामा पुग्ने उनको तर्क छ ।

‘हाम्रो पोलिटिक्स अब आर्थिक विकास र समृद्धिमा कसरी केन्द्रित हुने हो ? यसबारे छलफल हुनु पर्दछ,’ उनले भने, ‘यदि यो छलफल भएर हामी ठिक ढंगले निष्कर्षमा पुग्न सकेनौँ भने बास्तवमा हामी न हाँसको चाल न कुखुराको चाल हुन पुग्छौं ।’

विचारमा स्पष्ट हुन नसके सिंगो पार्टी नै अलमलमा पर्ने र अन्ततः कम्युनिष्ट पार्टीले नै दुर्गति भोग्नुपर्ने भन्दै त्यसतर्फ सधैँ चनाखो हुनुपर्ने आवश्यकता औल्याए ।

‘हाम्रो राजनीतिक कार्यदिशासँग गाँसिएका कुराहरुमा हाम्रो स्पष्टताको जरुरत छ । विचारको मामिलामा हामी स्पष्टताका साथ अगाडि बढ्नु पर्दछ ।’ नेता पोखरेलले भने, ‘राजनीतिक कार्यदिशाका सन्र्दभमा पनि स्पष्टता हासिल गरेनौँ भने हामी अलमलमा पर्छौँ । अलमलमा परेको कम्युनिष्ट पार्टी दुर्गति भोग्नुबाहेक अर्को उपलब्धि हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: