एएफसी कप : मनाङलाई दोस्रो चरण मुस्किल « Nagarik Khabar

एएफसी कप : मनाङलाई दोस्रो चरण मुस्किल



काठमाडौं । खेलको पहिलो हाफमै १० जनामा सीमित भएको मिनर्भा पञ्जावसँग बराबरीमै रोकिएपछि नेपाल च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई एसियाली फुटबल महासंघ (एएफसी) कप फुटबलको दोस्रो चरण प्रवेश मुस्किल देखिएको छ ।

बुधबार भएको खेलमा मनाङ मिनर्भासँग १–१ गोलको बराबरीमै रोकिएको हो । योसँगै चार टोली सम्मिलित समूह ईमा चार खेल खेलिसकेको मनाङ दुई बराबरीसँगै मात्रै दुई अंक जोडेर पुछारमा छ । मनाङले अहिलेसम्म जित हात पार्न सकेको छैन ।

मनाङले राउण्ड रोबिन लिगको पहिलो चरणको तीनमध्ये दुईमा पराजय र एकमा बराबरी खेलेको थियो । मनाङले गत मे एक तारिख मिनर्भासँगै उसकै मैदानमा २–२ गोलको बराबरी खेल्दै पहिलो अंक सुरक्षित गरेको थियो । राउण्ड रोबिन लिगको दोस्रो चरणको पहिलो खेलमा पनि मनाङले मिनर्भासँगै १–१ गोलको बराबरी खेलेको हो ।

सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको मैदानमा मनाङले निक्कै कमजोर प्रदर्शन ग¥यो । खेलमा निरन्तर दबाब झेलेको मनाङले दास्रो हाफको ४५ मिनेट पुरै १० जनामा सीमित भएको मिनर्भाविरुद्व गतिलो प्रदर्शन गर्न सकेन ।

खेलमा मनाङ ३९औं मिनेटमा पछि परेको थियो । कलिफ अलहासनले क्रस गरेको बललाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले हातले क्लियर गर्ने प्रयास गरेका थिए । यद्यपि सोही बललाई मोइरङथेम थोइबा सिंहले गोल गर्दै पाहुना टोलीलाई १–० ले अघि बढाएका थिए ।

पहिलो हाफको खेल सकिनै लाग्दा प्रतिक जोशीले दोस्रो पहेंलो कार्डमा मैदान छाड्दा मिनर्भा १० जनामा सीमित भएको थियो । यद्यपि मनाङले त्यसको फाइदा लिन सकेन । खेलको ८०औं मिनेटमा अञ्जन विष्टको लामो पासमा रक्षक सईद अजिजले हेडिङ गोल गर्दै मनाङलाई पराजयबाट भने जोगाएका थिए ।

त्यस अघि खेलको सुरुवातमै मिनर्भाको दुई सशक्त प्रहार क्रस बारमा लागेर फर्किदा मनाङ ठूलो अन्तरको पराजयबाट बचेको थियो । खेल सुरु भएको आठौं मिनेटमै मिनर्भाका ललमुयनपुइया सामुइलले २५ यार्ड दुरीबाट गरेको सशक्त प्रहार क्रस बारमा लागेर फर्किएको थियो । त्यसपछि खेलको १३औं मिनेटमा मिनर्भाका सिंहको अर्काे सशक्त प्रहार पनि क्रस बारमै लागेर फर्किएको थियो ।

खेलमा मनाङले कुनै पनि समय उत्कृष्ट आक्रमण बुन्न सकेन । खेलपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले आफ्ना खेलाडीले क्षमताअनुसार खेल्न नसकेको प्रतिक्रिया दिए । ‘हामीले जस्तो तयारी गरेका थियौं । हामीसँग जुन रणनीति थियो, त्यसअनुसार खेलाडीले खेल्नै सकेनन्’, प्रशिक्षक लोप्साङले भने, ‘१० जनाविरुद्व खेल्दा समेत जित हात पार्न नसक्नुमा हाम्रो कमजोरी त्यही रह्यो ।’

मनाङका कप्तान विराज महर्जनले पनि आफैले गरेको गल्ती महङ्गो सावित भएको प्रतिक्रिया दिए । ‘आज हामी आफैले धेरै गल्ती ग¥यौ । गलत पास खेल्यौं । साथीहरूबीचमै समन्वयन हुन सकेन’, कप्तान महर्जनले भने, ‘हामी आफ्नै कारणले जित हात पार्न असफल रह्यौं ।’

मिनर्भाका प्रशिक्षक सचिन बदाधेले भने रेफ्रीको निर्णयको तीब्र आलोचना गरे । ‘आजको खेलमा रेफ्रीले गलत निर्णय दिए । हामी १० जनामा सीतिम भएको अवस्थामा १२ जनाविरुद्व खेल्नुप¥यो’, प्रशिक्षक बदाधेले भने, ‘उनले कार्ड नभएको ठाउँमा हामीलाई रातो कार्ड दिए । भइसकेको गोललाई अफ साइड भनिदिए । हामी रेफ्रीको यो निर्णयविरुद्व उजुरी गर्ने छौं ।’ मिनर्भाका कप्तान ओमोलाजा करिमले पनि रेफ्रीको निर्णयको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: