पुतली बगैँचामा कहिले बन्छ अत्याधुनिक संसद भवन ? « Nagarik Khabar

पुतली बगैँचामा कहिले बन्छ अत्याधुनिक संसद भवन ?



काठमाडौं । अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको समाचार आजको गोरखापत्रमा छापिएको छ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन हुँदैआएको छ ।

जेठको दोस्रो हप्ताभित्र डिजाइन कार्यलाई अन्तिम रुप दिएर ‘टेन्डर’ प्रक्रियामा जाने बताइएको छ । यसका लागि ग्लोबल ‘टेन्डर’ आह्वान गरिने छ ।

२०७८ सालको असारसम्म संसद् परिसर निर्माण गरिसक्ने लक्ष्य रहेको छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको अवस्थामा बढीमा ६ महिनाको समयावधि थप गरिने छ । अन्तर्राष्ट्रिय स्तरको यो भवन परिसर नेपालको अहिलेसम्मकै अत्याधुनिक र बलियो हुने बताईएको छ ।

सिंहदरबारको उत्तर–पूर्वमा रहेको पुतली बगैंचाको करिब ५६ रोपनी क्षेत्रफलमा संसद् परिसर निर्माण गरिनेछ।

यस्तो बन्दैछ संसद परिसर

-मुलुकको भवन निर्माणको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो अयोजनाको रुपमा रहेको यो संसद परिसरको कूल निर्माण लागत करिब १० अर्ब रुपियाँ छ ।

-प्रस्तावित संसद् परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छ ।

-तीन सय जना अट्ने सुरक्षाकर्मीहरुका लागि भवन छुटाछुट्टै पनि निर्माण गरिने छ ।

-परिसर भवनमा तीनतल्ले पार्किङ समेत निर्माण गरिने छ ।

-छुटाछुट्टै भवन निर्माण गरिए पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू र त्यसमा उपस्थित हुनुपर्ने विशिष्ट महानुभावहरू समेत अटाउने खालको एउटा हल समेत निर्माण गरिनेछ ।

-परिसरमा भीभीआइपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्धार निर्माण हुनेछ ।

-संसद परिसरमा बगैँचा र चौर समेत हुनेछ ।

भाडामा अर्बौ खर्च

नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन प्रयोग गरेवापत संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई अहिलेसम्म भाडा वापत एक अर्बभन्दा बढी रकम बुझाइसकेको छ । सचिवालयले अहिले भाडा वापत वार्षिक पन्ध्र करोड रुपियाँ तिर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: