एकता दिवसअघि नेकपा नेताबीच यस्तो घोचपेच « Nagarik Khabar

एकता दिवसअघि नेकपा नेताबीच यस्तो घोचपेच



काठमाडौं । एकताको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको समाचार आजको कान्तिपुरको पहिलो पृष्ठमा छ । नेताहरूबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार एकता दिवस मनाउने तयारीमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच बुधबार युवासंघको मञ्चमा चलेको घोचपेचले आन्तरिक विवादलाई सतहमा ल्याइदिएको छ ।

पार्टी सञ्चालन शैलीप्रति आन्तरिक रूपमा असहमति राख्दै आएका उपप्रधानमन्त्री पोखरेलले बुधबार सार्वजनिक मञ्चबाटै वैचारिक रूपमा पार्टी स्पष्ट नहुने हो भने तासको महलझैं ढल्न सक्ने चेतावनी दिए ।

पोखरेलले झन्डै आधा घण्टा निकै आक्रामक अभिव्यक्ति दिएपछि अध्यक्ष दाहालले झन्डै १५ मिनेटसम्म त्यसको जवाफ दिए । वैचारिक आधारबिनै पार्टी एकता भयो र कुनै राजनीतिक दिशा छैन भन्ने भ्रम नपाल्न उनले आग्रह गरे । ‘हामीले यो सिद्धान्त, यो विचार भनेर धेरै माथापच्ची गरेको भए पार्टी एकता हुने थिएन, यो सरकार बन्ने थिएन । त्यसैले यो एकतामा नेतृत्व र विचार दुवैको भूमिका थियो,’ दाहालले भने, ‘विचारको कुनै भूमिका थिएन भन्ने ठानियो भने गलत हुन्छ ।’ 

नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाललगायतले पार्टीको कार्यशैली र वैचारिक कार्यदिशामाथि यसअघि नै पटकपटक प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: