आठौं खेलकुदका संरचना जोगाउने चिन्ता « Nagarik Khabar

आठौं खेलकुदका संरचना जोगाउने चिन्ता



नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला प्रदेश नम्बर ५ को विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्ब रुपैयाँको भौतिक संरचना संरक्षण र व्यवस्थापन गर्ने चुनौती थपिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि यी भौतिक संरचनाको संरक्षण र ब्यवस्थापन हुन नसकेको अवस्थामा खण्डहरमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरिसकेको छ ।

पछिल्लो समय खेलकुदका साथै अन्य निकायले पनि यी भौतिक संरचनाको संरक्षणमा ध्यान दिनुपर्ने आवाज उठाएका छन् । भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी शमसुद्दिन सिद्दिकी आठौं राष्ट्रिय खेलकुदका लागि निर्माण गरिएका यी भौतिक संरचनाको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको पनि भएको बताउछन् ।

उनी भन्छन्, ‘नेपालगञ्जमा बनेका संरचनाले हाम्रो गौरव बढाएको छ । यसको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्न सकेमात्र हामी र हाम्रो गौरव कायम रहन्छ । र, यो जिम्मेवारी यहाँको हरेक निकायले लिन आवश्यक छ ।’

नेपालगञ्ज उपमहानगरका प्रमुख डा। धवलशमशेर राणा नेपालगञ्जमा निर्माण भएका खेल संरचनाले नेपालगञ्जलाई खेलकुदको शहरको रुपमा निचाएको बताउछन्। नेपालगञ्जले पाएको यो प्रतिष्ठालाई जोगाउन पनि आठौं राष्ट्रिय खेलकुदको दौरान बनेका भौतिक संरचनाको संरक्षण आवश्यक रहेको उनी बताउछन् ।

‘नगरमा भएका सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व हामी सबैको हो । सबैले चासो दिए मात्र संरक्षण गर्न सम्भव छ’, उनी भन्छन्, ‘नत्र आठौंले नेपालगञ्जलाई दिएको उपहार खेर जानेछ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ निर्माण भएका संरचनाको संरक्षण र निर्माणका क्रममा रहेका संरचना पूरा गराउन नागरिक समाजले नजिकबाट नियाल्नुपर्ने बताउछन् । ‘भौतिक संरचना निर्माणका क्रममा नागरिक समाजका अगुवाले अनुगमन गर्नुपर्ने हो तर, त्यो गर्न सकेनौ, यसमा हाम्रो पनि दोष छ’, उनी भन्छन्, ‘अब बनिसकेका संरचनाको संरक्षण गर्ने दायित्व हाम्रो काँधमा आएको छ ।’

निर्माण भएका संरचना व्यवस्थित रुपमा उपयोग गर्न स्थानीय तहलाई जिम्मा दिनुपर्ने उनको भनाइ रहेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य आठौं राष्ट्रिय प्रतियोगिताले नेपालगञ्जको पहिचान बदल्ने संरचना उपहार दिएको बताउछन् । उनी यी संरचनाको स्याहार, सम्भार गर्न सके नेपालगञ्ज खेलकूदको ‘हब’ बन्ने बताउछन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान प्रदेश नम्बर पाँचका विभिन्न स्थानहरूमा लाखौ रकम खर्च गरी खेलकुदका राम्रा संरचना निर्माण भएका छन् । त्यसमध्ये केही संरचना अझै निर्माण पुरा हुन बाँकी रहेका छन् ।

नेपालगञ्जवासीहरूले निर्माण पूरा भइसकेका संरचनाको संरक्षण र पूरा हुन बाँकी रहेका संरचनाहरूलाई चाढै पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

– काशीराम शर्मा, रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: