लाङटाङ घुम्नेलाई मोबाईल उपलब्ध गराउँदै गोसाईकुण्ड « Nagarik Khabar

लाङटाङ घुम्नेलाई मोबाईल उपलब्ध गराउँदै गोसाईकुण्ड



रसुवा । मनै लोभ्याउने क्यान्जिन भ्याली, हिन्दू धर्मावलम्वीको पवित्र धार्मिक स्थल गोसाईकुण्ड, लाङटाङ राष्ट्रिय निकुञ्ज र चीनसँग जोडिएको ऐतिहासिक रसुवागढी नाका–सबै रसुवा जिल्लामा पर्छन् । गोसाईकुण्ड गाउँपालिकाभित्र छन् यी प्राकृतिक, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल ।

गोसाईकुण्ड गाउँपालिकाले रसुवाको ५१ प्रतिशत भूगोल ओगटेको छ । जनसंख्या भने सात हजार चार सय १० मात्रै छ । जब विनाशकारी भूकम्पले चीनसँगको तातोपानी नाकालाई तहसनहस बनायो, रसुवागढी नाका चीनसँगको प्रमुख नाका बन्यो । जुन नाकामा वार्षिक आठ अर्ब बढी राजश्व संकलन हुन्छ ।

सदरमुकाम धुन्चे समेत समेटिएको गोसाईकुण्डको केन्द्र भने अलि टाढा छ –स्याफ्रुबेसीमा । त्यहीं छ गोसाईकुण्डबासीको ‘सिंहदरबार’ । त्यो सिंहदरबारका प्रमुख कैसाङ नुर्पु तामाङ हुन् । ‘गाउँको सिंहदरबार’ गोसाईकुण्ड गाउँपाालिकाको प्रमुखमा कैसाङ नुर्पु तामाङ निर्वाचित घोषणा भएको आज (बिहीवार) दुईवर्ष पुगेको छ ।

युवा, वौद्धिक र दूरगामी नेताको छवि स्थापित गर्न सफल तामाङ वैशाखको २८ मा धुञ्चेमा संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको स्वागत र सत्कारमा थिए । मन्त्री बास्कोटा तामाङ नेतृत्वको गोसाईकुण्ड गाउँपालिकाले वैशाख ३ मा शुभारम्भ गरेको ‘गोसाईकुण्ड भ्रमण वर्ष’को भीआईपी पाहुना थिए । मन्त्रीसँगै पत्रकारलाई पनि आतिथ्यता प्रदान गरे भ्रमण वर्षको अवसरमा ।

मन्त्रीलाई विदाईको हात हल्लाएपछि पत्रकारहरुसँग गफिए प्रमुख तामाङ । हावाहुरी र मेघगर्जनसहित वर्षा भईरहँदा पत्रकारसँग गफिएका उनले एउटा योजना सुनाए, ‘लाङटाङ क्षेत्र घुम्ने विदेशी होइन, नेपाली पर्यटकलाई पनि सस्तो खालको मोबाईल उपलब्ध गराउने ।’

गोसाईकुण्ड गाउँपालिकाभित्र रहेका पर्यटकीय केन्द्रहरु, तीनको विकास, प्रवद्र्धन र भ्रमण वर्षका बारेमा उनले राखेका धारणाको सम्पादित अंश नागरिक खबरको के गर्दैछन् गाउँका सिंहदबार ? स्तम्भमा यहाँ प्रस्तुत गरिएको छ ।

कैसाङ नुर्पु तामाङ

अध्यक्ष, गोसाईकुण्ड गाउँपालिका, रसुवा

म सबैभन्दा पहिले गोसाईकुण्ड गाउँपालिकाको परिचय गराउँछु । सदरमुकाम धुन्चेसहित साविकका छ वटा गाविसहरु समावेश भएर गोसाईकुण्ड गाउँपालिका बनेको छ । धुन्चे, स्याफ्रु, टिमुरे, वृद्धिम, थुमन र लाङटाङ गाविस यसमा परे, जो अहिले वडाको रुपमा छन् । यो रसुवा जिल्लाको ५१ प्रतिशत भूगोल हो । जनसंख्या भने सात हजार चार सय १० मात्रै छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाईकुण्ड, क्यान्जिन भ्याली, ऐतिहासिक रसुवागढी, नेपालको पहिलो तामाङ संग्राहलय, तामाङ सम्पदा यसै गाउँपालिकामा पर्छन् । रसुवाको भूगोलमा आठसय मेगावाट जलविद्युत उत्पादन हुन्छ । त्यसमध्ये पाँचसय यसै गाउँपालिकाभित्र पर्छ । यहाँ ७२ प्रतिशत जनजातिको बसोबास छ, अधिक तामाङ समुदाय छन् ।

एक वडा एक पहिचान

हामीले यो गाउँपालिकाको विकास र समृद्धिका लागि योजनाहरु बनाइरहेका छौँ । हामीसँग एउटा ड्रिम प्रोजेक्ट छ, त्यो पर्यटनको विकास नै हो । पहिलोदेखि चौथो गाउँसभासम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने दौरानमा गोसाईकुण्डको पहिलो र प्रमुख पेशा तथा व्यवसाय पर्यटन नै हो भन्ने निष्कर्ष निकाल्यौँ ।

यहाँको पर्यटनलाई हामीले ‘एडभरटाईज्ड’ गर्न सकेका छैनौँ । प्राकृतिक रुपमा जस्तो छ, त्यत्तिमै सिमित छ । यसलाई व्यवस्थित गर्दै वाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउन गाउँपालिकाको योजना छ । पर्यटनलाई कसरी प्रवद्र्धन गर्ने भेर विभिन्न कार्यक्रम गरिरहेका छौँ ।

चौथो गाउँसभासम्म आईपुग्दा गोसाईकुण्ड गाउँपालिकाले पर्यटन र संरक्षणलाई केन्द्रित गरेर समग्र बजेटको ३० प्रतिशत विनियोजित गरेका छौँ । यहाँको पर्यटन प्रवद्र्धनका माध्यमबाट गोसाईकुण्डबासी हरेक नागरिकको आर्थिक जीवनमा परिवर्तन ल्याउन र भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउन हामीले वैशाख ३ गतेबाट गोसाईकुण्ड भ्रमण वर्ष सुरु गरेका छौँ । यहाँको पर्यटन विकास र पर्यटकीय क्षेत्रको व्यवस्थापनका लागि गाउँपालिकाले ‘एक वडा एक पहिचान’ नारा सुरु गरेका छौँ ।

तामाङ र तिब्बतीय कल्चरले भरिएको थुमन

साविकको थुमन गाविस अहिलेको १ न. वडा हो । जसको पहिचान होमस्टेसँग जोडिएको छ । हामीले होमस्टेमार्फत त्यो क्षेत्रको आर्थिक उन्नती गर्ने र पर्यटन प्रवद्र्धन गर्ने योजनामा छौँ । त्यो क्षेत्रमा तामाङ र तिब्तीयन मिक्सअप कल्चर छ । त्यो कल्चरको प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो ।

नाकपली भन्ने राम्रो टापु जस्तो स्थान छ । त्यसलाई व्यवस्थित गर्न भ्यू टावर निर्माण गर्न लागिरहेका छौँ ।

रसुवागढीलाई खुल्ला विश्वविद्यालय बनाउने

टिमूरे दुई नं. वडा पर्छ । नेपाल र चाइनाको नाका जोडिने क्षेत्र पनि हो । यो हाम्रो लागि महत्वपूर्ण छ । रसुवागढी यहीं पर्छ । १९१२ मा रसुवागढी नाकाको व्यवस्थापन गरेको त्यहाँको अभिलेखले बताउँछ । त्यसलाई थप व्यवस्थापन गर्ने, पर्यटकीय केन्द्रको रुपमा विकास गर्न खुल्ला विश्वविद्यालयको रुपमा विकास गर्ने गृहकार्य गरिरहेका छौँ । यसका लागि हामीले संघीय र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।

त्यहाँ तातोपानी पनि छ । त्यसलाई व्यवस्थित गर्दैछौँ । त्यहाँ ८० प्रतिशत तिब्बतीयन कल्चर छ । त्यो कल्चरलाई उजागर गरेर पर्यटनमैत्री बनाउने कोशिस गरिरहेका छौँ ।

गुरु रिम्पोचेको आशिर्वाद लागेको वृद्धिम

वडा नं. ३ साविकको वृद्धिम गाविस हो । रसुवा जिल्लाकै पहिलो होमस्टे भएको स्थान हो । पाँच घरबाट सुरु भएकोमा अहिले प्रायः जसो घरमा होमस्टे सञ्चालनमा छ । त्यसलाई गुरु रिम्पोचेको आशिर्वाद लागेको क्षेत्र पनि भनिन्छ । त्यहाँ पौराणिक कुरा देख्न सक्छौँ । त्यसलाई पर्यटन केन्द्रको रुपमा विकास गर्न कार्यक्रम गरिरहेका छौँ । तामाङ सम्पदाको दोस्रो गन्तव्य हो त्यो ।

इन्टरनेशनल स्कीको केन्द्र क्याञ्जिङ भ्याली

चार नं. वडा लाङटाङ, जो विश्वमै परिचित क्षेत्र हो । सधै हिउँ परिराख्ने क्याच्जिङ भ्यालीलाई ईन्टरनेशनल स्की (हिउँमा चिप्लेटि खेल्ने रमाईलो प्रकारको प्रतियोगिता) दोस्रो पटक सम्पन्न भयो । त्यसलाई निरन्तरता दिन संघीय सरकारको पर्यटन मन्त्रालयसँग समन्वय गर्दैछाँै ।

लाङटाङमा माउन्टनेरी स्कूल सञ्चालन गर्ने योजना छ । रक क्लाईमिङलाई छोटो, भरपर्दो र सस्तो रक क्लाईमिङलाई स्थापना गर्ने योजना छ । लाङटाङ आफैमा सुन्दर छ । भूकम्प अगाडि कस्तो थियो, भूकम्प गएपछि कस्तो भयो । र, अहिले कस्तो छ भन्ने अध्ययन गरेर भूकम्पको असरलाई कसरी पर्यटनसँग जोड्न सकिन्छ भन्नेमा अध्ययन गर्दैछौँ ।

रेडपाण्डाका लागि खुल्ला जु बन्दै स्याफ्रुमा

साविकका स्याफ्रु गाविस पाँच नं. वडा हो । गोसाईकुण्ड गाउँपालिकाको केन्द्र यही छ । नेपालमै दुर्लभ मानिएको रेडपाण्डा त्यो क्षेत्रमा पाईन्छ । चोलाङपाटी भन्ने ठाउँमा रेडपाण्डा संरक्षणका लागि खुल्ला जुको रुपमा यस वर्ष डीपिआर तयार गरेर कार्यक्रम अगाडि बढाउँदैछौँ ।

हिउँ चितुवा पनि पाईने स्थान हो । दक्षिण एशियामै लाङटाङ क्षेत्रमामात्रै एउटा प्रजातिको सल्ला पाउँछ, त्यसलाई संरक्षण गर्न लाङटाङे सल्लो भनेर नामाकरण गरेका छौँ । त्यो धेरैवटा औषधीका लागि कच्चा पदार्थको रुपमा प्रयोग हुँदो रहेछ ।

पहिलो तामाङ संग्राहलय भएको धुन्चे

यो गाउँपालिकाका ६ नं. वडा सदरमुकाम समेत रहेको धुञ्चे हो । यसलाई धेरैवटा क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने सोंचाईमा छौँ । यहाँ रहेको तामाङहरुको एउटामात्रै संग्राहलयलाई व्यवस्थित गर्न आईओएम भन्ने अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरेका छौँ । त्यो संस्थाले तामाङहरुको मौलिकता झल्कने भवन बनाई दिनेछ । भित्रको सेटिङ हामी गछौँ । तामाङ कल्चर स्कूलिङ सञ्चालन गर्ने हाम्रो चाहाना हो ।

५० रोपनी क्षेत्रफलमा रेडपाण्डा तथा तामाङ कल्चरल पार्कको रुपमा हामी विकास गर्दैछौँ । बोटानिकल गार्डेन, खेलमैदान, रेडपाण्डालाई नियाल्न सकिने स्ट्याचु, तामाङ कल्चरको प्रदर्शनी, फनपार्क, घले दरबारको व्यवस्थापन गरेर त्यो क्षेत्रमा एक दिन पर्यटक अलमलिने गरी प्याकेज बनाउँदैछौँ ।

धुन्चेदेखि गोसाईकुण्ड केवलकार

रसुवा जिल्ला मात्रै होइन ३ नं. प्रदेशकै महत्वपूर्ण परियोजनाको रुपमा धुन्चेदेखि गोसाईकुण्डसम्मको केवलकार निर्माणका लागि प्रक्रिया सुरु गरेका छौँ । गोसाईकुण्डा गाउँपालिका आफै प्रस्तावक रहेर तालुकका मन्त्रालय हुँदै राष्ट्रिय निकुञ्ज, विभागसम्म प्रस्ताव पेश गरेका छौँ । ईआईए सर्भे स्टडी र डीपिआर गर्दैछौँ । यो काम सकिएपछि हामीले हाम्रो कार्यकालमै केवलकार बनाउने छौँ । किनभने केहीं दिन अघि हवाई मार्गबाट यहाँ आउनु भएका प्रधानमन्त्रीज्यूले पनि अब म रसुवा आउँदा केवलकार चढेर गोसाईकुण्ड जाने गरी आउँछु भन्नुभएको छ ।

पर्यटकका सुरक्षाका लागि जिपिएस ट्र्याकिङ

नेपालको तेस्रो पर्यटकीय गन्तव्य भनेर रसुवा चिनिन्छ । २०७५ को अन्तिमसम्म तीन लाख ५० हजार जति विदेशी पाहुनाहरु यता भित्रिएको देखिन्छ । यो धेरै न्यून हो । राम्रो तरिकाले व्यवस्थापन गर्न सकेका छैनौँ ।

यहाँ भ्रमणमा आउनु भएका धेरैजना पर्यटक बेपत्ता हुनुभएको छ । छोटो दुरी, सजिलै फर्कन सकिन्छ र सस्तो यात्रा पनि हुन्छ भनेर गाईड नल्याई पर्यटक आउनु हुन्छ । जसका कारण बीचबाटोमा अलमलमा पर्ने र अन्तर्राष्ट्रिय नाकाका कारण अपराधिक घटनाले बेपत्ता हुने संख्या बढेको छ ।

पर्यटक बेपत्ता हुने संख्यालाई कसरी कम गर्न सकिन्छ भनेर विज्ञहरुसँग कुरा गर्दा विभिन्न विकल्पमाथि छलफल भईरहेको छ । नेपालमा व्यक्तिका लागि सफ्टवेर विकास भएको छैन । गाडिका लागि सफ्टवेर विकास भएको छ, जिपिएर ट्र्याकिङ ।

हामीले त्यसलाई के सोंचेका छौँ भने प्रत्येक पर्यटकलाई उनीहरुको मौलिक अधिकार हनन् नहुने गरी, उनीहरुलाई सुरक्षाको अनुभूति दिलाउने गरी जिपिएस ट्रयाकिङ लगाउने योजनामा छौँ । यो भ्रमण वर्षसँगै जिपिएस ट्र्याकिङ कार्यक्रम सुरु गर्ने तयारीमा छौँ ।

यसका लागि दुई ठाउँमा टावर राख्नुपर्ने हुँदोरहेछ । तालुक सञ्चार मन्त्रालयमा कुरा गरेका छौँ । टावर राख्ना बित्तिकै पाँचसय वटा सस्तो खालको मोबाईल किन्छौँ र चिप्स ईन्स्टल गछौँ । यहाँ घुम्न आउने पर्यटकलाई उपलब्ध गराउँछौँ । त्यो विदेशी पर्यटकको हकमा मात्रै होइन, आन्तरिक पर्यटकको हकमा पनि प्रयोग हुन्छ ।

यो किन गर्न खोजियो भने सबैभन्दा सुरक्षाको अनुभूति दिलाउने । पर्यटक सबै राम्रा हुन्छन् भन्ने छैन । पर्यटक आफैले पनि यो क्षेत्रलाई बदनाम बनाउने घटना घटाउन सक्छ । यसका लागि हामी सामान्य शुल्क लगाउँछौँ । सम्भव भएसम्म पहिलो वर्ष परिक्षणमा निशुल्क गर्छौँ । दोस्रो वर्षदेखि शुल्क उठाउछौँ ।

तामाङ मौलिकतामा घर बनाउनेलाई ५० प्रतिशत अनुदान

गोसाईकुण्ड गाउँपालिकामा भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माणमा आरसीसी ढलान भएको छ । यसले तामाङ मौलिकता हराएको छ । हामीले तामाङ मौलिकताको भवन बनाउनेलाई निर्माण सामाग्री र प्रविधिमा ५० प्रतिशतसम्म अनुदान दिने निर्णय गरेका छौँ । एउटा वडामा १० वटासम्म त्यस्ता घर बनुन् भन्ने हाम्रो चाहाना हो । त्यस्ता घर बनेमा त्यसलाई होमस्टेको रुपमा विकास गर्न सकिन्छ की भनेर लागेका छौँ ।

सडकको अवस्था हाम्रो पहुँचमा छैन

निश्चय नै धुञ्चेसम्म आईपुग्न सडकको अवस्था राम्रो छैन । जोखिमयुक्त यात्रा गरेर यहाँ आईपुग्नुपर्छ । प्रधानमन्त्री, विभिन्न मन्त्रालयका मन्त्री, विशिष्ट व्यक्ति यहाँ आउँदा हाम्रो पहिलो जिज्ञासा, माग, सुझाव जे भएपनि यो बाटोको स्तरउन्नती होस् भन्ने हुन्छ । साना गाडी पनि सहज रुपमा आउन्, त्यसखालको सडक बनोस् भन्ने माग राख्ने गरेका छौँ ।

यो नाकाबाट एक वर्षमा आठ अर्ब राजश्व संकलन हुन्छ । आठ अर्ब राजश्व संकलन गर्ने सडकको अवस्था यस्तो छ भने अरुको के होला । यो सडकका लागि ९२ करोडको बजेट अनुमान गरिएको छ । म अर्थमा पुगेँ, भौतिकमा पुगेँ र अब प्रधानमन्त्रीको कार्यकक्षमा पुग्नेछु ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: