उद्योगमन्त्री मात्रिका यादवसंग प्रष्टिकरण सोध्ने तयारी (भिडियोसहित) « Nagarik Khabar

उद्योगमन्त्री मात्रिका यादवसंग प्रष्टिकरण सोध्ने तयारी (भिडियोसहित)



काठमाडौं । संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसंग प्रष्टिकरण सोध्ने भएको छ । समितिको बिहिवार बसेको बैठकले दुतावास र अदालतबाट पनि सेयर खरिदबिक्रीको अभिलेख हेर्नसक्ने व्यवस्था मिलाउन दिएको निर्देशनका विषयमा मन्त्रीसंग प्रष्टिकरण सोधेपछि फेरि छलफल गर्ने निर्णय गरेको हो ।

उजुरीमाथि सम्बन्धित निकायसँग छलफल गर्ने काम सुरु गरिएको र मन्त्री यादवसँग स्पष्टिकरण लिएपछि सो सम्बन्धमा आवश्यक निर्देशन दिने तयारी गरिएको समितिका सभापति रामनारायण बिडारीले बताए ।

समितिको बैठकमा उद्योग सचिव यामकुमारी खतिवडा र कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले मन्त्री यादवको सो निर्देशन गैरकानुनी भएको स्विकार गरेका थिए । बैठकमा मन्त्री यादवले दिएको सो निर्देशन गैरकानुनी भएको दावी गर्दै खारेज गर्न पाउँ भनि दिएको उजुरीको विषयमा छलफल गर्ने क्रममा उद्योग सचिव खतिवडाले कम्पनी ऐनमा उल्लेख नभएको विषयमा दिइएको निर्देशनलाई कानुनसम्मत भन्न नमिल्ने पनि खतिवडाले बताईन ।

मन्त्री यादवले आफ्नो निजी सचिवालयमार्फत् गत असार २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयलाई सेयरको अभिलेख राख्ने व्यवस्था अदालत र दुताबासहरुमा पनि गर्न निर्देशनसहितको पत्र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पठाएका थिए । सो पत्र कानुन सम्मत नभएको दावी गर्दै खारेज गर्न समितिमा उजुरी परेको थियो ।

त्यसैगरी कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार अर्यालले मन्त्री यादवले निर्देशन दिएपछि आफूहरुले त्यसलाई कार्यान्वयनका लागि सबै ठाउँमा परिपत्र गर्नु परेको स्पष्टिकरण दिएका थिए ।
बैठकमा समितिका सदस्यहरुले भने मन्त्री यादवको सो निर्देशन कानुन विपरित भए/नभएको सचिव खतिवडालाई प्रश्न गरेका थिए । समितिका सदस्य राधेश्याम अधिकारीले कम्पनी रजिष्ट्रारको कार्यालयले गर्ने सेयरको सनाखत सम्बन्धि काम किन अदालत र दुतावासलाई पनि दिइएको भनि सरकारको चर्को आलोचना गरेका थिए ।

कम्पनी ऐन अनुसार सेयरको सबै अभिलेख कम्पनी रजिष्ट्रारको कार्यालयमा राख्नुपर्ने हुन्छ । तर मन्त्री यादवले अदालत र दुतावासमा पनि राख्न दिएको निर्देशन गैर कानुनी भएको दावी गर्दै उजुरी कर्ताले त्यसलाई खारेज गर्न माग गर्दै सो समितिमा उजुरी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: