प्रहरीको हाइटी मिसन बन्द, नयाँ मिसन अन्योलमा « Nagarik Khabar

प्रहरीको हाइटी मिसन बन्द, नयाँ मिसन अन्योलमा



काठमाडौँ । हाइटीमा द्वन्द्व कम हुँदै जाँदा नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) ‘हाइटी मिसन’ सधैँका लागि बन्द भएको छ । संयुक्त राष्ट्रसंघको आग्रहमा हाइटीमा स्थापना भएको मिसन दुई साता अघि बन्द भएको हो ।

हाइटीमा खटिएको टोली स्वदेश फर्कने र त्यहाँस्थित बन्दोबस्तीका सामान फिर्ता ल्याउने प्रक्रिया अघि बढिसकेको छ । हाइटीमा द्वन्द्व कम हुँदै गएपछि संयुक्त राष्ट्रसंघले शान्ति मिसनलाई कटौती गर्ने क्रममा नेपाल प्रहरीको हाइटी मिसन बन्द भएको हो ।

क्यारेबियन देश हाइटीमा सन् २००४ देखि शान्ति स्थापनार्थ नेपाल प्रहरीको टोली खटिँदै आएको छ । एफपियू हाइटीमा हालसम्म तीन हजार ७० जना प्रहरीले सेवा गरेका छन् ।

हाइटी मिसन बन्द भएपछि सुडान मिसन मात्र बाँकी छ । हाइटी मिसन बन्द भएपछि नेपाल प्रहरीका लागि राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिताको अवसर भने कम हुँदै गएको छ ।

नेपाल प्रहरीको एफपियू मिसन सुडानमा मात्र छ । शान्ति मिसन नेपाल प्रहरीका लागि आकर्षक स्थान हो । संयुक्त राष्ट्रसंघले नै त्यहाँको मिसन कटौती गरेको र नेपाल प्रहरी कटौतीमा परेका कारण हाइटी मिसन बन्द भएको प्रहरीले जनाएको छ । ‘केही वर्ष अघि नै मिसन बन्द हुने जानकारी थियो त्यहाँको द्वन्द्व कम हुँदै गएपछि अन्य देशका सेना र प्रहरीलाई पनि राष्ट्रसंघले हटाएको छ नेपाल पनि हटेको हो’, प्रहरी प्रवक्ता समेत रहेका डिआइजी विश्वराज पोखरेलले भने । उनका अनुसार प्रहरीलाई नयाँ मिसनका लागि राष्ट्रसंघसँग पहल भइरहेको छ ।

राष्ट्रसंघले तीन वर्षअघि नै नेपाल प्रहरीलाई नयाँ एफपियू मिसन दिने प्रस्ताव गरेको थियो । त्यसका लागि बन्दोबस्तीका सामान खरिद गर्न भनिएकोमा प्रहरीले पुरानै गाडीलगायत सामानलाई नयाँजस्तो बनाएर देखाएपछि निरीक्षणका लागि आएका राष्ट्रसंघका अधिकारीले नेपाल प्रहरीका मिसन नदिइएको स्रोतले जनाएको छ । सुडान भ्रष्टाचार प्रकरणपछि नेपाल प्रहरीले मिसनका लागि समयमा सामान किन्न सकेको छैन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुडान र दक्षिण सुडानका बिचमा रहेको विवादास्पद क्षेत्र अबेईमा खटाउने सङ्केत राष्ट्रसंघका अधिकारीले दिएका छन् । तर, यसबारे अझै कुनै निर्णय भएको छैन । सशस्त्र प्रहरीको भने दक्षिण सुडानमा दुईवटा एफपियू मिसन छन् । सशस्त्रको लाइबेरियास्थित पहिलो एफपियू मिसन दुई वर्षअघि नै बन्द भएको थियो ।  

पर्यवेक्षकका रूपमा जाने (अनपोल मिसन) भने लगभग बन्दजस्तै भइसकेको छ । पछिल्लो समय शान्तिसेनामा प्रहरीबाट सहभागिता कटौती हुँदै गएको छ । अनपोलअन्तर्गत धेरै प्रहरी जाने गरेको सुडान मिसनमा पनि प्रहरीको सङ्ख्या घट्दै गइरहेको छ । लाइबेरियामा पनि थोरै मात्र प्रहरी जाने गरेका छन् । त्यस कारण मिसनको परीक्षा पास गरेर बसेका प्रहरीले लामो समयसम्म पनि जान नपाउने अवस्था सिर्जना भएको छ । पछिल्लो पटक सेन्ट्रल अफ्रिकन रिपब्लिकमा जानका लागि सेना र प्रहरीले दुवैले लबिङ गर्दै आएका भए पनि त्यहाँ सेनाले बाजी मारेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: