प्रधानमन्त्री ओली भन्छन् ‘भण्डारीले भनेको अन्तिम होइन’ (भिडियोसहित) « Nagarik Khabar

प्रधानमन्त्री ओली भन्छन् ‘भण्डारीले भनेको अन्तिम होइन’ (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पछिल्लो समय ‘जनताको बहुदलिय जनवाद’का विषयमा विवाद बढेपछि दुई अध्यक्षबीच पनि यस विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार भएको अनौपचारिक छलफलले नयाँ विचारको परिकल्पना गर्नेगरी निष्कर्ष निकालेको छ । छलफलको निष्कर्ष शुक्रवार आज मदनआश्रित स्मृति दिवसका दिन दुई अध्यक्षको अभिव्यक्तिमा समेत झल्किएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डकै शैली नअपनाए पनि जबजलाई नयाँ स्वरुपमा परिमार्जनको आवश्यकतामा जोड दिए । ओली भन्दा पहिले बोलेका प्रचण्डले ‘मदन भण्डारीको विचारलाई दोहोर्याउने वा बिकास गर्ने ?’ भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा ओलीले भण्डारीले भनेको कुरा अन्तिम नभएको बताएर विचारमा लचकता प्रस्तुत गरेका छन् ।

ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको बिचारलाई मार्गदर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’ पार्टीका लगभग सबै संरचनाको एकतापछि नेकपाभित्र वैचारिक बहस शुरु भएको छ ।

ओली निकट मानिएका उपप्रधानमन्त्री इश्वर पोख्रेलले केहीदिनअघि एक कार्यक्रममा जबजलाई आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने बताएपछि एकपछि अर्को गर्दै प्रचण्डले नयाँ विचारधाराको कुरा उठाएका छन् । उनले पहिलेको जस्तै अडान राख्ने अवस्थामा नयाँ पार्टी नबन्ने चेतावनी समेत दिएका छन् ।

पोख्रेलको अभिव्यक्ति ओलीको निर्देशनमा आएको अनुमान गरेका पूर्वमाओवादीले शुक्रवारदेखि भने नयाँ विचारका विषयमा बहस केन्द्रीत हुने बताएका छन् । जबजका विषयमा पूर्व एमालेभित्रै समेत विवाद छ । ओलीको अभिव्यक्तिसंगै सचिवालय सदस्य समेत रहेका पोख्रेल एक्लिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: