जग्गाको समस्याले जनप्रतिनिधि हैरान « Nagarik Khabar

जग्गाको समस्याले जनप्रतिनिधि हैरान



काठमाडौं । स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरुको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताए । दुई, तीन आना जग्गा लिएर घर बनाउनेले साँध सीमा मिची अरुको जग्गामा घर बनाएको उजुरी आउने क्रम बढेको उनको भनाइ छ ।

धादिङ स्थायी घर भएका टेकबहादुर तामाङले दुई वर्षअघि नगरपालिकाको वडा नं २ नयाँपाटीमा कित्ता नं ६८६ को जग्गा खरीद गरेका थिए । जग्गा किनाउने दलालले पनि सँगै जोडिएको कित्ता लिएका थिए । निजीस्तरका अमिनीले त्यसबेला नापजाँच गरेर किला ठोकिएको थियो । केही महीनापछि वरपरका जग्गा धनीले मिचेर दुई आना तीन पैसा जग्गा छैन भन्न थालेपछि आफू अप्ठेरोमा परेको उनले गुनासो गरे ।

धेरै जग्गा किनेर खण्डीकरण गरी व्यवसाय गर्नेका कारण जग्गा हराउने गरेको वडा कार्यालयले जनाएको छ । यस्ता व्यवसायीले ल्याउने निजी अमिनीले जसले बढी पैसा दियो त्यतै किला ठोकिदिने गर्दा स्थानीयस्तरमा समस्या आउने गरेको बताइएको छ ।

नापी कार्यालय साँखुका प्राविधिकले जग्गा भएको भनी नापजाँच गरी किला ठोके पनि सँधियारले उक्काइदिएको तामाङले गुनासो गरे । यसैगरी नगरपालिका–१ मा मीना श्रेष्ठको नाममा रहेको जग्गामा नानीमैयाँ बुढाथोकीले घर बनाउन थालेपछि नगरपालिकाको न्यायिक समितिमा उजुरी पर्यो । नक्सा पास नगरी बनाउन थालिएको घरको काम समितिले रोक्यो ।

राजधानी नजिकको काँठ क्षेत्रमा जग्गा किनबेच भएर घर बन्न थालेसँगै यस्ता समस्या पनि बढ्न थालेको छ । नापी कार्यालयले हाल साबी नगरेको र नापीमा आधुनिक प्रविधिको प्रयोगसमेत नगरिएका कारण यस्तो समस्या बढ्ने गरेको छ ।

नगरपालिकाको न्यायिक समितिमा हालसम्म जग्गाको साँध सीमासम्बन्धी बढी उजुरी दर्ता भएको छ । नगर उपप्रमुख एवं शान्ति नेपाल यस वर्षमात्र समितिमा ९३ वटा उजुरी दर्ता भएकामा ९० प्रतिशतभन्दा जग्गाको सीमा विवादको रहेको बताउँछन् । जग्गा विवादका समस्या समाधानमै न्यायिक समितिले बढी समय खर्चनु परेको उनले गुनासो गरे ।

पुस्तौँदेखि मोहीले कमाएको जग्गा थाहा नदिई धनीले चक्लाबन्दी गरेको गुनासो पनि समितिमा दर्ता भएको छ । तीन पुस्ता अघिदेखि कमाउँदै आएको जग्गा मोहीलाई थाहा नदिई धनीले खण्डीकरण गरेको उजुरीमा प्रहरी प्रशासनले केही नगरेपछि न्यायिक समितिको ढोका ढक्ढक्याउन बाध्य हुनुपरेको पीडित शिवप्रसाद पुडासैनीले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: