फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने बाध्यता « Nagarik Khabar

फोन र इन्टरनेटका लागि दुई दिन हिँड्नुपर्ने बाध्यता



डोल्पा । मुड्केचुला गाउँपालिका–८ डोल्पा सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । उनी बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै आउनु परेको छ । इन्टरनेटका लागि शाहीलाई सदरमुकाम नै आउनुपर्ने बाध्यता छ । स्थानीयस्तरको समस्या, कार्यक्रम र गतिविधिका समाचार लेखेर पठाउने माध्यम नहुँदा शाहीलाई काम गर्ने इच्छाशक्ति पनि मर्दै गएको छ ।

फोन गर्नका लागि र इमेल गरेर समाचार पठाउन चार घण्टा उकालो हिँडेर नर्कुको अग्लो डाँडामा पुग्नुपर्ने भएकाले आफूलाई यो काम फलामको चिउरा चपाए झैँ भएको पत्रकार शाहीको गुनासो छ । अर्का पत्रकार सरोज थापाको पनि उस्तै गुनासो छ । सञ्चार र प्रविधिको युगमा पनि गाउँघरका समाचार पनि लेखेर पठाउन कठीन भएको उनको भनाइ छ । तत्कालै प्रयोग गर्नुपर्ने कतिपय समाचार पनि सञ्चार माध्यमको पहुँच नहुँदा बासी भएपछि तिनको महत्व नरहने उनी गुनासो गर्छन्

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिकाका विभिन्न वडामा फोनले काम नगर्दा यहाँका हजारौँ बासिन्दाले सास्ती भोग्दै आएका छन् । आफन्तसँग फोन गर्नका लागि अग्ला पहाडका नेटवर्कको खोजी गर्दै घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको जगदुला गाउँपालिका–६ का करवीर रोकाय बताउँछन् ।

एक गाउँबाट अर्को गाउँमा खबर पठाउन र पाउन पनि दुई दिनसम्म लाग्ने गरेको उनको भनाइ छ । स्थानीय तहका कर्मचारीलाई कुनै कार्यक्रम गर्नका लागि खबर पठाउन हिँडेरै जानुपर्दा हैरान भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही बताउँछन् ।
उनी भन्छन्, “टावर निर्माणका लागि ल्याइएका सामग्रीहरु रुकुमको त्रिवेणीमा एक वर्षदेखि थन्किएका छन्, टेलिकमका कर्मचारी नआउँदा टावर जडान गर्न सकिएको छैन ।” मुड्केचुला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कुमा पनि फोनले काम नगर्दा सरकारी काम गर्न सदरमुकाम दुनै जानु परेको शाहीको भनाइ छ ।

इलमा रहेको वाणिज्य बैंकको सेवा प्रवाहमा समेत समस्या देखिँदै आएको छ । टेलिफोन टावर निर्माणका लागि ठाउँठाउँमा निवेदन गरिए पनि त्यसको सुनुवाइ नभएको अध्यक्ष शाही बताउँछन् ।

यहाँका गाउँमा रेडियो तथा टिभी कुनै पनि सञ्चारका सेवा उपलब्ध नहुँदा देश तथा बिदेशका खबर महीना दिनपछि मात्र थाहा हुने गरेको छ । उपल्लो डोल्पामा कुनै सामान्य घटनाको खबर पनि सदरमुकाम पुर्‍याउन पाँच दिनभन्दा बढी लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टको भनाइ छ । माथिल्लो डोल्पाका अधिकांश ठाउँमा टेलिफोन सम्पर्क नहुँदा दैनिक सूचना आदानप्रदानमा समस्या पैदा भएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: