लगानीयोग्य वातावरण बनाउने बजेट आउँछ : अर्थमन्त्री खतिवडा « Nagarik Khabar

लगानीयोग्य वातावरण बनाउने बजेट आउँछ : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेट लगानीयोग्य वातावरण बनाउन केन्द्रित हुने बताएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पूर्वबजेटबारे निजी क्षेत्रका उद्योगी व्यवपारीहरुको संस्थाका प्रतिनिधिसँगको छलफलमा उनले कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रगत विषयहरुलाई सरकारले प्राथमिकताको सूचीमा राखेको प्रष्ट्याए । निजी क्षेत्र नै अर्थतन्त्रको मुख्य भएको मध्यनजर गर्दै लगानीको वातावरण निर्माणका लागि आगामी बजेट केन्द्रित हुने, प्रक्रियागत झण्झटहरु हटाउनेतर्फ लागिपरेको अर्थमन्त्रीको भनाइ छ ।

उनले संख्यात्मकभन्दा पनि गुणात्मक क्षमताको विकास गरी मुलुकको अर्थतन्त्रमा योगदान दिने गरी निजी क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिए । मन्त्री खतिवडाले स्वदेशी एकद्वार सेवा स्वदेशी लगानीकर्ताहरुले पाउने स्पष्ट पार्दै लगानी बोर्डमार्फतबाट कार्यान्वयन हुने एकद्वार प्रणालीका लागि आवश्यक ऐन कानुनहरु संशोधन र निर्माणकै क्रममा रहेको बताए ।

छलफलमा निजी क्षेत्रको तर्फबाट आगामी बजेटमा उच्च एवं दिगो आर्थिक वृद्धि, ऊर्जा, पूर्वाधार विकास, पर्यटन, कृषि तथा वन क्षेत्रको व्यवसायीकरणलगायतका विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए । उनीहरुले बाझिएका ऐन कानुनमा सुधार, बैंकिङ, बिमा, कर तथा राजस्वका दर दायरामा थप स्पष्टता आवश्यक रहेको औंल्याए ।

त्यस्तै, संघीयतामा कर प्रशासन, आय कर, अन्तःशुल्कलगायतका विषय सहज बनाउन पनि सुझाव दिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोर, नेपाल चेम्बर अफ कमर्सका कार्यवहाक अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष हिम रावल, नेपाल राष्ट्रिय व्यापार संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: