बाँके । प्रहरीले चरेश तस्करीको अभियोगमा एकजनालाई पक्राउ गरेपछि बाँकेको नरैनापुरमा हंगामा मच्चिएको छ । भारतीय नागरीक देविदिन विकलाई प्रहरीले ५ किलो चरेशसहित पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै विकलाई रिहा गर्न माग गर्दै स्थानीयहरुले प्रहरी चौकी घेरा हालेका थिए । निर्वाचित क्षेत्रको स्थलगत अनुगमनमा गएकी ५ नं. प्रदेश सांसद कृष्ण केसी ‘नमुना’ समेत घेराबन्दीमा परेकी हुन् ।
आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नयाँगाउँ, खयरभट्टी लगायतका ठाउँको स्थलगत अवलोकन गरी फर्कदै गर्दा उनलाई स्थानीयहरुले घेराबन्दी गर्नुकासाथै केसी सवार गाडीको हावा खोलिदिएका थिए । भारतीय ब्यापारीलाई छुटाउन माग गर्दै साँसद र पत्रकार सवार गाडीमाथि तोडफोड गरेपछि स्थिति झनै तनावपूर्ण भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाई फायर गरेको थियो ।
सीमावर्ती क्षेत्रबाट आएका स्थानीयहरुले विकको रिहाईको माग गर्दै प्रहरी चौकी तोडफोड गर्न थालेपछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै प्रहरी चौकीमा समेत ढुंगामुडा गरेका छन । स्थिति तनावपूर्ण रहेकाले सुरक्षाका लागि जिल्लाबाट थप प्रहरी मगाइएको घटनास्थलमा रहेका काँचुलीका सम्पादक गजेन्द्र गुरुङले जानकारी दिए । साँसद नमुना सहितको पत्रकार टोलीलाई नरैनापुर गाँउपालिका कार्यालयमा राखिएको छ । गाउँपालिका कार्यालय बाहिर बाक्लो सँख्यामा उपस्थित रहेका भारतीय नागरिकहरुले विकलाई हिरासतमुक्त नगरेसम्म साँसदको टोलीलाई बाहिर जान नदिने बताएपनि सुरक्षाका कारण गाँउपालिका कार्यालयभित्र बसिरहेको पत्रकार गुरुङले जानकारी दिए ।
यसैबीच घटनास्थलको सुरक्षाका लागि जिल्लाबाट प्रहरीको टोली भर्खरै घटनास्थल पुगेको छ ।