समृद्ध सिन्धुली अभियानले सेनासँग मिलेर यसरी बनाउँदैछ पदमार्ग (तस्बिरसहित) « Nagarik Khabar

समृद्ध सिन्धुली अभियानले सेनासँग मिलेर यसरी बनाउँदैछ पदमार्ग (तस्बिरसहित)



 सिन्धुली । समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ । नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्ग निर्माण सुरु गरेको हो ।

नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण सुरु गरिएको हो । पदमार्ग निर्माणमा दैनिक ८५ जना कामदार खटिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष लीलानाथ घिमिरेले बताए । घण्टेबाट सुरुभएको पदमार्ग निर्माण ऐतिहासिक हरिहरपुरगढी किल्ला, जितपुरगढीहुँदै भिमगढ पुगेको छ ।

‘दैनिक ८० देखि ९० जना कामदार जंगलमै बास बसेर काममा खटिएका छन,’ अध्यक्ष घिमिरेले भने, ‘सबैको सक्रिय सहभागिताले पदमार्ग निर्माण सोचेभन्दा तीब्र रुपमा भइरहेको छ ।’ कामदारले बाटोमा पर्ने चौतारा, प्रतीक्षालय निर्माण, मर्मत गरिरहेका छन् । पदमार्गमा पर्ने खोरभञ्ज्याङमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । यस्तै प्रतीक्षालय जीतपुरगढीमा निर्माण हुँदै योजना छ । धरान–चतरा जोड्ने मदनभण्डारी लोकमार्गमा पर्ने घन्टेमा पदमार्ग सुरु हुने कलात्मक प्रवेशद्वार निर्माण भइरहेको छ ।

‘मदन भण्डारी लोकमार्गमा यात्रा गर्नेहरू पदमार्गहुँदै एक घण्टामै ऐतिहासिक हरिहरपुरगढी पुग्न सक्छन, पदमार्गका अध्यक्ष घिमिरेले भने, चौधौं शताब्दीमा बनेको ऐतिहासिक किल्ला हेर्न हरेक नेपालीलाई यो पदमार्गले सघाउने छ ।’ तत्कालीन गोर्खाली सेनाले नेपाल एकिकरण क्रममा हिँडेको बाटोलाई पर्यटकीय पदमार्ग बनाउन समृद्ध सिन्धुली अभियानले काम थालेको हो ।

अभियानलाई नेपाली सेनाले पदमार्ग निर्माणमा सघाउने भएको छ । सेनाको लेफ्टिनेन्टको नेतृत्वमा ४० जनाको समूह हरिहरपुरदेखि पदमार्गको पाइलट ट्रेल निर्माण गर्दै सिन्धुलीगढीतर्फ अगाडि बडेको सिन्धुलीस्थित बर्दबहादुर गणका गणपति राजिव थापाले जानकारी दिए । ‘नागरिक अधियन्ताहरूसँग मिलेर हामी तत्कालीन गोर्खाली सेनाहरू हिँडेको बाटोलाई पर्यटकीय पदमार्ग निर्माणमा सघाइरहेका छौं,’ उनले भने, ‘पहिलो चरणमा अप्ठारा ठाउँलाई हिँड्न लायक बनाउने, विश्राम गर्न चौतारा, प्रतीक्षालय बनाउने, संकेत चिन्हरू राख्ने खाम हाम्रो टोलीले गर्ने छ ।

चौधौं शताब्दीमा बनेको हरिहरपुरगढी अझै ओझेलमा छ । त्यही समयमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । यी दुई स्थल पदमार्गले जोड्न सकिने घिमिरेको धारणा छ । अभियानका संयोजक सहित प्राविधिक, समाजशास्त्री, पत्रकारलगायत ८ जनाको टोलीले गत महिना पदमार्गको अध्ययन गर्न हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म ७ दिन लगाएर यात्रा गरेको थियो ।

सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए ।
संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवतको १४ औं शताब्दीमा स्थापना भएको इतिहासकारहरूको भनाइ छ ।त्यस्तै हरिहरपुरगढी सिन्धुलीगढीको भन्दा पूरानो इतिहास बोकेको किल्ला हो । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालित राजा हरिसिंह देव वि.सं. १३८७ मा सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए ।

त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो । झण्डै ६ सय बर्षअघि बनेको यो किल्ला अहिले पनि पुरानो स्वरुपमा जस्ताको तस्तै छ ।ऐतिहासिक महत्व बोकेका यी दुई गढीको प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदमार्ग निर्माण सुरु गरिएको संयोजक घिमिरे बताउछन् । ‘कतिपयलाई सिन्धुलीगढी र हरिहरपुरगढीको महत्वबारे थाहै छैन,’ उनले भने, ‘राष्ट्रिय गौरवका रुपमा रहेको ऐतिहासिक सिन्धुलीगढी र हरिहरपुरगढीबारे प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो ।’ यस यात्राले नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै महत्वपूर्ण स्थलको प्रचारमा सघाउ पुग्ने आफूले विश्वास लिएको उनले बताए ।
पदमार्ग निर्माण गर्न पूर्वमन्त्री तथा सांसद हरिवोल गजुरेलले केही रकम छुट्याएका छन् । उक्त रकमबाट उपभोक्ता समिति गठन गरेर निर्माणको काम सुरु गरिएको हो । ‘ऐतिहासिक स्थलहरू जोड्ने पदमार्गमा पर्यटकहरूलाई हिँडाउन सके स्थानीय बासिन्दालाई आय आर्जनमा सघाउन सकिन्छ,’ गजुरेलले भने, ‘त्यसैले पदमार्ग निर्माण गर्न प्रयास गरेको हुँ ।’ उनले यस पदमार्गलाई स्थापित गर्न आफूले निरंतर सहयोग गरिरहने बताए ।

नेपाल एकिकरण क्रममा गोर्खाली सेना हिँडेको रुट प्रबर्धन गर्दै अभियन्ताहरू

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: