दुई यात्रुबाहक बस ठोक्किँदा एकको मृत्यु, ३० घाइते « Nagarik Khabar

दुई यात्रुबाहक बस ठोक्किँदा एकको मृत्यु, ३० घाइते



हेटौंडा । पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बर को यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नम्बर को अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएको हो । उक्त दुर्घटनामा काठमाडौँ आउँदै गरेको बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आफ्नै साइडबाट गइरहेको बसलाई विपरीत दिशाबाट उछिन्ने गरी आएको अर्को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । दुर्घटनामा सख्त घाइते ४० वर्षीय मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

अर्का बसको चालक भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते तीन जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइतेको हेटौँडामै उपचार भइरहेको र सामान्य घाइते प्राथमिक उपचारपछि घर फर्किएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: