समृद्ध नेपाल सुखी नेपालीका लागि बौद्ध दर्शन महत्वपूर्ण: गृहमन्त्री « Nagarik Khabar

समृद्ध नेपाल सुखी नेपालीका लागि बौद्ध दर्शन महत्वपूर्ण: गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरेका छन् ।

श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीका अवसरमा शनिवार बौद्ध स्तुपामा आयोजना गरेको कार्यक्रममा उनले दुःख र अशान्तिकै कारण बौद्ध दर्शनको जन्म भएको बताए । “मानिसले आफूलाई केन्द्रविन्दुमा राखेर सोच्दा दुःख र अशान्ति हुने गरेको छ, सबैले हामी भन्ने भावनाबाट अघि बढ्न सके शान्ति स्थापना हुन्छ, अहिंसा, सदाचार, समानता र शान्तिबाट दुःख अन्त्य गर्न सकिन्छ”–मन्त्री थापाले भने।

विश्वमा वार्षिक खर्बौ डलर हतियार उत्पादनका लागि खर्च हुने गरेकाले पनि शान्तिको आवश्यकता विश्वव्यापी भएको उनको भनाइ थियो । यसैकारण पनि पश्चिमा देशमा बौद्ध दर्शनका अनुयायी बढ्दै गएको मन्त्री थापाले सुनाए ।

धार्मिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उनले जानकारी गराए । लुम्बिनी, पशुपतिनाथ र जनकपुर क्षेत्रमा बढी पर्यटक आउने गरेकाले यी क्षेत्रको पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री थापाको भनाइ थियो ।

कार्यक्रममा गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले पाँचौँ शताब्दीमा निर्मित बौद्ध स्तुपको धार्मिक महत्व विश्वका बौद्ध धर्मावलम्बीकै लागि भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रुपमा विकास गरिनुपर्ने बताए ।

ओशो तपोवनका संस्थापक अध्यक्ष स्वामी आनन्द अरुणले लुम्बिनीमा भौतिक पूर्वाधारको निर्माण गरे वार्षिक ३० लाख पर्यटक भित्र्याउन सकिनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए । लुम्बिनीमा दुई घण्टाका लागि मात्र आउने पर्यटकलाई एक रात मात्र राख्न सके समृद्ध नेपालको आधार तयार हुने उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: