ऐतिहासिक रसुवागढी जीर्ण : भत्किएको पर्खाल, च्यातिएको राष्ट्रिय झण्डा (भिडियोसहित) « Nagarik Khabar

ऐतिहासिक रसुवागढी जीर्ण : भत्किएको पर्खाल, च्यातिएको राष्ट्रिय झण्डा (भिडियोसहित)



रसुवा । रसुवागढी २०७२ सालको भूकम्पपछि चीनसँगको प्रमुख नाका तातोपानीको विकल्प बनेको छ । भूकम्पले नेपाल–चीन जोड्ने प्रमुख नाका तातोपानीको सम्पर्कविच्छेद गरेपछि रसुवागढीबाट चिनियाँ वस्तु नेपाल भित्रिने र नेपाली वस्तु चीन बाहिरिने गरेको छ । यसै नाकाबाट वार्षिक करिब आठ अर्ब रुपैयाँ राजस्व संकलन हुँदै आएको छ । तर, रसुवागढी चीनसँगको प्रमुख आर्थिक नाका मात्रै नभई नेपालको गौरवमय इतिहास बोकेको स्थान पनि हो ।

छिमेकी चीनतर्फको भौतिक संरचना आधुनिकताले भरिरहँदा चिनियाँ नागरिकले पहिलो पाइला टेक्ने नेपाली भूमिमा रहेको रसुवागढी भने भग्नावशेष छ । ऐतिहासिक गढीको पर्खाल भत्किएको छ । गढीमाथि फहराइरहेको नेपाली राष्ट्रिय झण्डा च्यातिएको देखिन्छ ।

के हो रसुवागढीको इतिहास ?

रसुवागढी मल्लकालदेखि नै एउटा महत्त्वपूर्ण किल्लाका रुपमा रहेको कुरा इतिहासमा उल्लेख छ । प्रताप मल्लको शासनकालमा कुती र खासा जित्न रसुवागढीको सामरिक महत्त्व रहेको तथ्य हनुमानढोकास्थित कृष्ण मन्दिरको अभिलेखमा समेत उल्लेख छ । 

शाहकालमा प्रचलित मुद्राका विषयमा विवाद चर्किंदै गएपछि नेपाल र तिब्बतको सम्बन्धमा चिसोपन आयो । विशेषतः शामर त्रुलुकलाई आश्रय दिंदा स्थिति झन् बिग्रिन गई अन्ततः विवाद १७८८–८९ को प्रथम नेपाल तिब्बत युद्धमा परिणत भयो । त्यस युद्धको समयमा ‘आगढि बढन्या, किल्ला तामन्या, लाममा बसन्या र नेपाल रहन्या’जस्ता समूहमा संगठित हुने नेपाली फौजले प्रचलित कुती र केरुङ दुवै मोहडाबाट अगाडि बढ्दै दिगर्चामाथि आक्रमण गरेर तिब्बत कब्जा गर्ने योजना बनाएका थिए । केरुङ मोहोडा भई आक्रमणका लागि बढेको काजी बलभद्र शाह नेतृत्वको करिब ३२०० भरिया र ६००० फौजले रसुवागढी र टिमुरेलाई फर्म बेसको रुपमा प्रयोग गरेको थियो ।

दोस्रो नेपाल–भोट/चीन युद्ध (वि.सं. १८४९)मा केरुङ मोहोडाबाट अभिमानसिंह बस्न्यातको नेतृत्वमा बढेको फौजले झुँगा कब्जा गर्दै दिगर्चा कब्जा गरी कुती मोहोडाबाट बढेको फौजसँग लिङ्क अप गर्ने उद्देश्यका साथ अगाडि बढ्दा रसुवागढीलाई थप मद्दत र बन्दोबस्ती प्रयोजनका लागि उपयोग गरेका थिए ।

तिब्बतीयहरुसँगको युद्धको क्रममा नेपाली फौजद्वारा दिगर्चा कब्जा गरेपछि भोटको अनुरोधमा तत्कालीन चिनियाँ सम्राटले सैनिक सहायता प्रदान गर्न निर्देशन दिएअनुरुप चिनियाँ फौजका कमाण्डर फुकाङ आन र कालोङ होर खाङ नेतृत्वको फौजले केरुङ मोहोडाबाट शत्रुभञ्जन मल्ल नेतृत्वको फौजलाई केरुङमा पराजित गरेपछि नेपाली फौजले बिलम्ब युद्धका लागि रसुवागढी किल्लालाई छनौट गरी केही घण्टा उक्त फौजलाई रोक्न सफल भएको थियो । बेत्रावतीको सन्धिले उक्त युद्धको अन्त्य गरेको थियो ।

वि.सं. १९१२ मा कुती क्षेत्रको सीमा विवाद र अन्य विवादित घटनाहरुले गर्दा तेस्रो युद्धको सम्भावनालाई पूर्वानुमान गरी तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले युद्धको तयारी गर्ने सन्दर्भमा कमाण्डर शिवराम खत्रीको व्यवस्थापनमा यमदल कम्पनी र थप दुई पल्टनले दुई महिना १३ दिन लगाएर हालको स्वरुपमा रसुवागढी बनाएको कुरा इतिहासमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: