ककनीमा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी’ शुरु « Nagarik Khabar

ककनीमा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी’ शुरु



नुवाकोट । ककनीमा शनिबारदेखि ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ शुरु भएको छ । पाँच दिनसम्म चल्ने मेलाको पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

मेलाको उद्घाटन गर्दै प्रचण्डले मुलुकको समृद्धिको मुख्य आधार कृषि भएकाले यसलाई आकर्षक पेशाका रुपमा स्थापित गर्नुपर्ने बताए । ‘कृषिलाई राजनीतिमा जोडेर समाज रुपान्तरणका लागि किसानको नेता बोगटीको सपना पूरा गर्नका लागि मेला सान्दर्भिक बनेको छ’, उनले भने, ‘विकास, समृद्धि र रोजगारका लागि कृषि मुख्य आधार भएकाले यसको व्यवसायीकरण र आधुनिकीकरणमा सरकारले प्रमुख प्रथामिकता दिनुपर्दछ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले अझै पनि बहुसङ्ख्यक नेपाली कृषि पेशामा निर्भर रहे पनि वार्षिक अर्बौं रुपैयाँ खर्चिएर कृषि सामाग्री आयात भईरहेको बताए । उनले कृषिमा परनिर्भरतालाई अन्त्य गर्न सरकारले कृषकलाई अनुदान, उत्पादित वस्तुको बजारीकरण र कृषि पेशालाई सम्मानित बनाउनुपर्ने बताए ।

मेलामा नेकपाका नेता पम्फा भुसाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेससभा सदस्य केशवराज पाण्डे, बद्रीप्रसाद मैनाली लगायतका वक्ताले दिवङ्गत नेता बोगटीले कृषकको अधिकार स्थापना र रानीतिमा किसानको सहभागितामार्फत पुर्‍याएको योगदानको स्मरण गरे ।

ककनी गाउँपालिकाको रानीपौवा बजारमा आयोजित मेलाको पहिलो दिन पूर्वमन्त्री जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलगायतका जनप्रतिनिधिले अवलोकन गरेका छन् । पाँच दिनसम्म चल्ने मेलामा ९० वटा स्टल राखिएका छन् । स्थानीय कृषि उत्पादन, कृषि सामग्री र कृषि परामर्श केन्द्रका लागि निःशुल्क स्टल उपलब्ध गराइएको आयोजकले जानकारी दिएको छ ।

मेलामा आकर्षकका रुपमा ट्राउट माछा, स्ट्रबेरी, काफल, शिखरबेंसीको चामल, पिँडालु, आलु, किम्ताङको अर्गानिक चिया, कफी, विभिन्न जातका तरकारी र अन्नबाली रहेका छन् । यसैगरी, पशुचौपायअन्तर्गत बाख्रा, बोयर र जमुनापारी जातका बोका, खसी बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: