एजेन्सी । नाइजेरियाको आतंकवादी समूह बोको हरामका लडाकुहरुले कम्तीमा १० जना माझीको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने मैदुगुरी क्षेत्रमा भएको यस घटनामा परी मारिएका मध्ये १० जनाको शव भेटिएको स्थानीय आपत व्यवस्थापन अधिकारीहरुले जनाएका छन् ।
ती लडाकुहरुले माझीहरुलाई गत बिहीबार आक्रमण गरेको जनाइएको छ । उनीहरुलाई मैदुगुरीदेखि ४ किलोमिटर टाढा रहेको अलौडाममा मारिएका हुन् । राजधानी बोनोस्थित आपत व्यवस्थापन कार्यालयका प्रमुख बेल्लो डानबाट्टाले मारिएका माझी मध्ये अधिकांश छिमेकी गाउँ कोन्डुगाका रहेको जानकारी दिए ।
लेक चाद बासिनेका अध्यक्ष अबुबाकर गामान्दीले माझीहरु मारिएको पुष्टि गर्दै आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भएको बताए । बोको हरामका लडाकुहरुले सन् २००९ देखि अहिले सम्म २० हजार भन्दा बढी व्यक्तिको हत्या गरेका छन् भने अरु दशौँ लाख आ आफ्नो घरबाट विस्थापित भएका छन् । यो समूह नाइजेरियासहित चाद, नाइजर, उत्तरी क्यामरुनलगायतका देशमा पनि आतङक मच्चाउँदै आएको छ ।