धरानमा डेंगु संक्रमितको संख्या ११ पुग्यो « Nagarik Khabar

धरानमा डेंगु संक्रमितको संख्या ११ पुग्यो



धरान । धरान उपमहानगरपालिकाको हेलचेक्राईले गर्दा एक हप्ताको अवधिमा डेंगु संक्रमितको संख्या ११ पुगेको छ । एक हप्ता अघि तीन जनामा देखिएको डेंगु फैलिदै धरानमा डेंगु संक्रमितको संख्या ११ पुगेको हो ।

पछिल्लो पटक धरान १३ मा पनि दुई जनामा डेंगु रोगी भेटिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले जानकारी दिए । यसैगरी धरान १५ मा भने डेंगु रोगीको संख्या ९ पुगेको छ । धरान १३ र १५ मा गरी डेंगु रोगीको संख्या धरानमा ११ पुगेको धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

धरानमा गत कार्तिक महिनामै डेंगु देखा परेको थियो । त्यतिबेला देखिएको डेंगु पुर्णरुपमा नियन्त्रण गर्न धरान उपमहानगरपालिकाले चासो नदेखाउँदा डेंगुका रोगी बढेको सर्वसाधरणको गुनासो छ । बढदो गर्मीसँगै धरानमा डेंगु फैलिदै गएको पनि सर्वसाधारणले बताएका छन् । रोग फैलिन नदिन धरान उपमहानगरपालिकाले विशेष चासो राख्नुपर्ने धरानबासीको भनाई छ ।

पछिल्लो पटक धरान १५ मा तीन जना व्यक्तिलाई डेंगु रोग देखिएपछि लामखुट्टे नियन्त्रणका लागि धुवा लगाउने फगिङ गरेको धरान उपमहानगरपालिकाले केही दिन रोकेको थियो । धरानमा ११ जनामा डेंगु भेटिए पछि शनिवार साँझदेखि पुनः धुवा लगाउन सुरु गरेको छ । लामखुट्टे मार्नका लागि धरान उपमहानगरपालिकाले खासै प्रभावकारी अभियान संचालन नगरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

डेंगु एजिप्ट एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट हुनेगर्दछ । अहिले उपमहानगरपालिकाले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको धुवा हान्ने दुईवटा फगिङ मेसिन चलाएर फगिङ गरिरहेको छ । यो कार्य प्रभावकारी हुन सकिरहेको छैन ।

यसरी फगिङ गरेर डेंगु नियन्त्रण हुन नसक्ने स्वास्थ्य विज्ञहरुको भनाई छ । यदि फगिङनै गर्ने हो भने पुरै धरान बजारमा एकै पटक फगिङ गर्नुपर्छ । तर यहा समय समयमा गरिने फगिङले लामखुट्टे नियन्त्रण नुहने बताईन्छ । एउटा वस्तिमा फगिङ गर्दा अर्काे नजिकै रहेको बस्तिमा लामखुट्टे पुग्ने र फेरी त्यो नजिकैको बस्तिमा फगिङ गर्दा फेरी पहिलेकै ठाउमा लामखुट्टे फर्केर जाने भएकोले यो नियन्त्रण गर्ने तरिका प्रभावकारी हुन नसक्ने बताईएको हो ।

धरान बजार पुरै फगिङ गर्न एक महिना लाग्ने बताइएको छ । त्यसैले यो फगिङ प्रविधिद्धारा डेंगु नियन्त्रण गर्नेहो भने धरानको क्षेत्रमा फगिङ गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको दावी छ । विश्वका विभिन्न ठाउँमा माहामारीको रुप लिएको डेंगु समयमै नियन्त्रणमा आएन भने धरानमा पनि यसले माहामारी रुप लिन सक्ने धरान उपमहानगरपालिका १३ नम्वर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । धरानमा यसरी दिनानुदिन डेंगु फैलिदै जाँदा धरान उपमहानगरपालिकाले फगिङ गर्नै बाहेक केही नगरेकोमा धरानवासी आक्रोसित पनि भएका छन् ।

  • भैरब आङ्ला
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: