राजपाको विधान संशोधन, अध्यक्ष मण्डल नरहने « Nagarik Khabar

राजपाको विधान संशोधन, अध्यक्ष मण्डल नरहने



काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)ले अध्यक्ष मण्डल नरहने निर्णय गरेको छ । पार्टीको महाधिवेशनपछि एक मात्र अध्यक्ष रहने निर्णय गरेको हो ।

जेठ २ गतेदेखि ४ गते अबेरसम्म बसेको बैठकले विधान संशोधन गर्दै अध्यक्ष प्रणालीमा जाने व्यवस्था गरेको हो । राजपाको विधानको धारा ३१ (१२)मा यसअघि महधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा उक्त व्यवस्था संशोधन गरिएको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्ष प्रणालीमा सञ्चालन हुने निर्णय गरिएको छ । यसअघि कुनै पनि तल्लो तहमा निर्वाचित सदस्य, पदाधिकारीहरूलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था नरहेकोमा अब त्यो व्यवस्था लागू नहुने निर्णय भएको छ ।

त्यसैगरी, पार्टीको कुनै पनि तह वा स्तरमा समितिहरू बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्यसमितिमा अपसी सहमतिको आधारमा मात्रै गठन गर्ने प्रावधान रहेकोमा यो उपधारा हटाइएको राजपाले जनाएको छ।

नयाँ निर्णयअनुसार यसअघि पार्टीको महाधिवेशन दुई वर्षभित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर तीन वर्षभित्र गरिने भनिएको छ। यसअघि संक्षिप्त विधानमा निर्वाचित सदस्य, पदाधिकारहिरूको लागि शपथ ग्रहणको व्यवस्था छुट्न गएकोमा नयाँ व्यवस्थाअनुसार शपथ ग्रहणको व्यवस्था गरिएको छ। चक्रीय प्रणालीअनुसार सोमबारदेखि पार्टीको अध्यक्ष मण्डलको संयोजक अनिल कुमार झा हुने बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: