काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकमा समावेश प्रेस स्वतन्त्रताविरोधी प्रावधानको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
महासंघको पहिलो चरणको आन्दोलनप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले दोस्रो चरणको आन्दोलन घोषणा गुर्नपरेको महासंघले जनाएको छ ।
केन्द्रीय समितिको बैठक अघि पत्रकार महासंघको आयोजनामा संचार सम्वद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग संयुक्त बैठक बस्यो । उक्त बैठकमा प्राप्त सुझाव समेतका आधारमा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघले निम्नाअनुसार विरोधका कार्यक्रम तय गरेको छ ।
दोस्रो चरणको आन्दोलनमा महासंघका पूर्वअध्यक्षहरुसँगको छलफल र परामर्शका, संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गर्ने, सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान चलाउने, काठमाडौंको बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत् प्रदर्शन गर्नेलगायतका आन्दोलन घोषणा गरेको छ ।
महासंघको आन्दोलनका कार्यक्रमहरु
जेठ ६ र ७ गते– महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श ।
जेठ ८ गते– संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने ।
जेठ ९ देखि १२ गतेसम्म– सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने ।
जेठ १३ र १४ गते– सांसदहरुसँग भेट गरी छलफल गर्ने ।
जेठ १६ र १७ गते– प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता ।
जेठ १८ देखि २० गतेसम्म– महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने ।
जेठ २१ र २२ गते– महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।
जेठ २३ र २४ गते– केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।
जेठ २५ गते – अपरान्ह ३ बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने । काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने । (मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने ।)