सशस्त्र प्रहरीले बुझायो बरामद गरिएको चितुवाको छाला « Nagarik Khabar

सशस्त्र प्रहरीले बुझायो बरामद गरिएको चितुवाको छाला



दोलखा । सशस्त्र प्रहरी बल दोलखाले बरामद गरेको संरक्षित वन्यजन्तु चितुवाको छाला डिभिजन वन कार्यालय दोलखामा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल दोलखाले गत बुधबार दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा साढे ५ फिट लामो चितुवाको छाला बरामद गरेको थियो । उक्त छाला आइतबार डिभिजन वन कार्यालय बुझाइएको हो ।

छाला बिक्रीका लागि ल्याउँदै गरिएको छाला सशस्त्र प्रहरी नायब निरीक्षक बद्रीबहादुर सोडारीको नेतृत्वको टोलीले बरामद गरेको थियो । छाला बोक्ने व्यक्ति भने फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक किरणकुमार कठायतले बताए । फरार व्यक्तिको खोजी भइरहेको बताइएको छ ।

गत भदौ १८ गतेमा दोलखामा स्थापित सशस्त्र प्रहरी बल दोलखाले जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी निकासी पैठारी नियन्त्रण, महत्त्वपूर्ण संरचनाको सुरक्षा, सीमा सुरक्षासहित वन्यजन्तु अपराध नियन्त्रण लगायतको सुरक्षा प्रदान गर्दै आएको छ ।

सशस्त्रले हालसम्म प्रतिबन्धित वन्यजन्तुको कारोबारसँग सम्बन्धित चार वटा घटना नियन्त्रण गरेको छ । गत पुसमा राष्ट्रिय चरा डाँफे फेला पारी सम्बन्धि कार्यालयमा बुझाएको थियो । चैतमा करिब चार केजी र बैशाखमा करिब एक केजी सालकको खपटा बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: