बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी « Nagarik Khabar

बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी



काठमाडौं । भूकम्पपछि नक्सालस्थित बालमन्दिरका एक सय २८ अनाथ बालबालिकालाई टहरोमा राखिएको छ । नेपाल बाल संगठनको स्वामित्वमा रहेको मालीगाउँस्थित पक्की भवनमा भने प्रहरी कार्यालय सार्ने तयारी गरिएको छ । शिक्षाका लागि खाद्यान्न कार्यक्रम सञ्चालित मालीगाउँको पक्की भवनमा कमलपोखरी प्रहरी वृत्त सार्न लागिएको हो । भूकम्पले बालमन्दिरको मुख्य भवन भत्किएपछि मालीगाउँको भवनमा बालबालिकालाई सार्न खोजिएको थियो । तर, त्यहाँ बालबालिकालाई सार्न दिइएन । त्यसैले आश्रित बालबालिकालाई बालमन्दिरपरिसरमा प्रि–फ्याबको टहरोमा राखिएको छ । तर, अहिले त्यही भवनमा प्रहरी कार्यालय सार्ने निर्णय भइसकेको छ ।

कमलपोखरीबाट वृत्त कार्यालय हटाउनुपर्ने अवस्था आएपछि नेपाल प्रहरीले यस्तो निर्णय गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । ‘कमलपोखरी विस्तार गर्नुपर्ने भएकाले त्यहाँबाट वृत्त कार्यालय सार्नुपर्ने भयो । वृत्तका लागि कार्यालय खोज्दै जाँदा मालीगाउँस्थित शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन हुँदै आएको घर भेटियो । त्यही घरमा वृत्त कार्यालय सार्ने निर्णय भएको छ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: