त्यसबेला ओली, प्रचण्डको आशीर्वाद, अहिले भयो ‘घात’ ! « Nagarik Khabar

त्यसबेला ओली, प्रचण्डको आशीर्वाद, अहिले भयो ‘घात’ !



काठमाडौं । वैचारिक हिसाबले सरकार सञ्चालन गर्ने र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुईतिहाई बहुमतसहित नेतृत्व एकै दलका छन् । तर, सरकार भने वैदेशिक रोजगार व्यवसायीहरुलाई एकपछि अर्को गर्दै कस्ने नीति अबलम्बन गरिरहेपछि अध्यक्षसहित दुई तिहाई पदाधिकारीले नै सामूहिक राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थिति बनाउने नाममा एकपछि अर्को कानुन बनाउँदै कस्न थालेपछि विभिन्न चरणमा व्यवसायीले श्रममन्त्री गोकर्ण विष्टलाई भेटेर सुझाव र ध्यानाकर्षण पनि गराएका छन् । तर, व्यवसायीको कुरा सुनुवाई भएको छैन ।

‘आफ्नै विचारको पार्टी सरकारमा हुने, हाम्रो कुनै कुराको सुनुवाई नहुने, भिन्न विचार राख्नेको कुरा सुनेर मन्त्री एकलौटी व्यवसायीलाई पेल्ने नीति लिने भएपछि हामी संघमा बस्नुको औचित्य देखेनौं’ संघका एक सदस्यले भने– व्यवसायीको कुरा नसुने हामी सामूहिक राजीनामा दिन्छौं ।

व्यवसायी संघको आन्तरिक सोसियल मिडिया ग्रुपमा पनि सामूहिक राजीनामा दिनेको संख्या १४ पुगिसकेको छ । १४ जना नेकपा समर्थित छन् । कार्यसमितिको १७ जनामा तीन जनामात्र नेकपा बाहेककाले जितेका हुन् ।

पार्टीमा महत्वपूर्ण योगदान गर्दै आएका व्यवसायीको संख्या ठूलो छ । यी व्यवसायीको कुनै कुराको सुनुवाई नगर्ने, छलफल नै नगर्ने हो भने सामूहिक राजीनामा आउने पूर्वएमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयो ।

मन्त्रीको एकोहोरो पेलानका कारण पार्टीप्रतिको सम्मान घटाउने काम गरेको भन्दै अध्यक्ष साँवाले भन्नुभयो– अहिले अवलम्बन गरिएका नीतिहरु दलाल पूँजीवादीलाई फाइदा पुगिरहेको छ । मध्यम वर्गीय व्यवसायीलाई मर्कामा पार्ने कामले समृद्ध मुलुक बनाउने अभियान त भड्खालोमा जान्छ नि ।

मन्त्री स्वयम पार्टीको जिम्मेवार नेता हो । त्यसैले पनि पार्टीका नेता, कार्यकर्ता मात्र नभएर आम समर्थकको भावना बुझेर मन्त्रीले काम गर्नुपर्ने सुझाव अध्यक्ष साँवाको छ । तर, व्यवसायीहरुले भने मन्त्री निरंकुश ढंगले अघि बढेको बुझेका छन् ।

व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने तत्काल राजीनामाका विषयमा सामान्य छलफल मात्र भएको बताए । ‘आफ्नै पार्टीको सरकार, आफ्नै पार्टीको नेता मन्त्री, हाम्रो कुरा कुनै सुनुवाई नहुने भएपछि संघमा बसेर हामीले के गर्ने ? त्यसैले सामूहिक राजीनामा दिने मनस्थितिबारे छलफल भएको हो ।’

प्रधानमन्त्रीको आश्वासन

रोजगार व्यवसायीहरुमा आफ्नो पक्कड जमाउन व्यवसायीको चुनावी सभामा तत्कालीन एमालेका अध्यक्ष तथा वर्तमान नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत चुनावी सभामा सम्बोधन गर्न पुग्नुभएको थियो । प्रधानमन्त्रीको आश्वासनले पनि नेकपा समर्थित प्यानलले बहुमतका साथ चुनाव जितेको थियो ।

तर, अहिले आएर भने चुनाव जित्नेहरु निल्नु न ओकल्नुको स्थितिमा पुगेका छन् । नेकपाकै सरकार, नेकपाकै मन्त्री भएर पनि नेकपा समर्थित व्यवसायी संघका अध्यक्ष लगायतसित परामर्श नगर्ने, परामर्श गरेपनि पूरै वेवास्ता गर्दै अघि बढेपछि संघमा बसिरहनुको औचित्य सकेको निष्कर्षमा नेकपा समर्थित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरु पुगेका छन् ।

संघमा रहेका नेकपा समर्थितहरुले सामूहिक राजीनामा दिने थाहा पाएपछि प्रधानमन्त्री ओलीले त्यसो नगर्न आग्रह गरेका छन् । संघका अध्यक्ष रोहन गुरुङलाई आइतबार बालुवाटार बोलाएर तत्काल सामूहिक राजीनामा नदिन भनेको बालुवाटार स्रोतले बताएको छ ।

संघमा नेकपा समर्थितहरुलाई विजय गराउन आफ्नो पनि योगदान रहेको भन्द्र प्रधानमन्त्रीले व्यवसायीका मागबारे आफूले पनि ध्यान दिने बताउनुभएको स्रोतको भनाइ छ । यसबारे संघका अध्यक्ष गुरुङसँग बुझ्दा केही बताउन चाहनुभएन ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: