राजस्व चुहावट रोक्न प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्यायोजन : अर्थमन्त्री खतिवडा (भिडियोसहित) « Nagarik Khabar

राजस्व चुहावट रोक्न प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्यायोजन : अर्थमन्त्री खतिवडा (भिडियोसहित)



काठमाडौं । सरकारले राजस्व चुहावट रोक्न प्रदेश र स्थानीय तहलाई पनि अधिकार प्रत्यायोजन गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५’ प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वका अधिकार प्रदेश र स्थानीय तहमा गएकाले चुहावट रोक्न पनि प्रदेश र स्थानीय तहले कारवाही गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको प्रष्ट्याए ।

राजस्व चुहावट नियन्त्रणको दायरालाई फराकिलो बनाउँदै अनुसन्धानलाई प्रभावकारी बनाउन र राज्य सञ्चालनको परिवर्तित मोडलअनुसार राजस्व संकलन र प्रभावकारी परिचालनका लागि सरकारले संशोधन विधेयक ल्याएको अर्थमन्त्री खतिवडाको भनाइ छ । उनले राजस्व चुहावटमा धेरै प्रकारका प्रकृति र प्रवृति हुने र ती विषयलाई प्रस्तावित ऐनको विधेयकले सम्बोधन गरेको स्पष्ट पारे ।

कर छली गर्नेलाई कारवाही गर्ने अधिकारीबारे पनि विधेयकमा स्पष्ट गरिएको छ । राजस्व संकलन र कर चुहावट नियन्त्रण गर्ने एउटै निकाय अर्थमन्त्रालय एउटै रहँदा नियन्त्रण र संकलनको काम हुँदैन भनेर प्रधानमन्त्रीको कार्यालयमा राजस्व अनुसन्धान विभागलाई लगेको र अनुगमनको प्रभावकारीता बढाउने विषय विधेयकमा समावेश गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

कर्मचारी सरुवा गर्दैमा समस्या समाधान नहुनेमा सरकार स्पष्ट रहेकाले प्रवृत्ति परिर्वतन गर्नुपर्नेमा जोड दिइएको उनले बताए । अर्थमन्त्री खतिवडाले भने, ‘थोकका भाउमा कर्मचारी सरुवा गरेर समस्या समाधान हुँदैन । सदाचारी आचरणमा नबस्ने कर्मचारीलाई कारवाही प्रक्रियामा लैजानुपर्ने हुन्छ । भइरहेको पनि छ ।’

नेपालीको खाता ट्याक्स हेवन मुलुकमा राखिएको विषयमा सरकारको ध्यानाकृष्ट भएको र राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागमार्फत छानविन भइरहेको स्पष्ट पारे । ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: