पाकिस्तानमा किन बढ्यो महँगी ? « Nagarik Khabar

पाकिस्तानमा किन बढ्यो महँगी ?



एजेन्सी । आर्थिक सङ्कटका कारण पाकिस्तानी नागरिक समस्यामा परेका छन् । जसका कारण उनीहरुलाई दैनिक खानपानमा समेत समस्या हुन थालेको छ । लामो समयदेखिको महँगी नियन्त्रणको आशा राखेका पाकिस्तानी नागरिक लगातारको महँगीले सङ्कटमा परेका हुन् । सरकारले महँगी नियन्त्रणका लागि अपनाएका उपायले काम गरेको छैन ।

खाद्यान्न, लत्ताकपडा र आयातित सबै सामग्रीको भाउ महँगो भएको छ । सरकारले वितरण गर्ने सस्तो खाद्यान्न पनि वितरण हुन सकेको छैन । लामो समयदेखि रमजानमा वितरण हुने सस्तो खाद्यान्न यस पटक रोकिएको छ ।

स्याउको भाउ प्रतिकिलो ४०० भन्दा धेरै पुगेको छ भने दूध १९० रुपैयाँ लिटर पुगेको छ । केरा दर्जनको १५०, सुन्तला प्रतिकेलो ३६० रुपैयाँ, खसीबोकाको मासु प्रतिकिलो १ हजार १०० रुपैयाँ किलो पुगेको छ । मार्चको तुलनामा मे महिनामा प्याजको भाउ ४०, टमाटरको १९ प्रतिशत, मुंगको दाल १३ प्रतिशत र अन्य खाद्य सामग्री १० प्रतिशतभन्दा बढीले बढेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

महँगीका कारण पाकिस्तानका आमनागरिक सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । एक अध्ययनअनुसार सरकारको नीतिकै कारणले गर्दा व्यवसायीले निर्वाधरूपमा व्यापार गर्न पाएका छैनन् । फलस्वरूप महँगीको मार नागरिकले बेहोर्नु परिरहेको छ ।

मुद्रा विशेषज्ञले पाकिस्तानी मुद्रामा आएको गिरावटमा आइएमएफसँगको सहमति भएको बताएका छन् । ६ अर्ब डलर प्याकेजमा सहमति हुन लागेको खबरले गर्दा समग्र आर्थिक अवस्थामा नकारात्मक असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानले आउने ३९ महिनाका लागि ६ अर्ब डलर आईएमएफबाट प्राप्त गर्नेछ । विश्व बैङ्क र एसियाली विकास बैङ्कबाट समेत पाकिस्तानले कर्जा पाउने भएको छ । सम्झौताका सर्तले गर्दा पाकिस्तानमा महँगीले आकाश छोएको हो ।

पाकिस्तानका आर्थिक परिसूचक सबै नकारात्मक छन् । शेयर मार्केट पछिल्लो १७ वर्षकै कमजोर अवस्थामा झरेको छ । शेयर कारोबारीले सरकारलाई बजारलाई सहयोग गर्ने कार्यक्रम घोषणा गरेर कार्यान्वयन गर्न माग गरेका छन् । पाकिस्तानी मुद्रा एसियाकै सबैभन्दा खराब अवस्थामा पुगेको छ ।

पाकिस्तानी मुद्रा मे महिनामा २९ प्रतिशतले कमजोर बनेको छ । १ अमेरिकी डलरको १५० पाकिस्तानी रुपैयाँमा अहिले कारोबार पुगेको छ । कराँची नजिकै तेल र ग्यास खोज्ने अभियान रोकिएको छ । यसले पनि पाकिस्तानलाई करोडौँ डलर घाटा भएको छ । पाकिस्तानले ग्यास र तेल आयात गर्छ ।

पाकिस्तान आत्मनिर्भर मात्र नभएर निर्यात समेत गर्न सक्ने भन्दै तेल र ग्यास खोजी गरिएको थियो । शनिवार ड्रिलिङ्ग रोकिएको घोषणा गरियो । अमेरिकी तेल कम्पनी एक्सन मोबिल र इटलीको तेल कम्पनी इएनआइले करोडौँको लागतमा उत्खनन गरेका थिए । यसले सरकारलाई करोडौं डलर घाटा लाग्यो ।

पाकिस्तानले पेट्रोलियम पदार्थमा १५ प्रतिशत मात्र कच्चा तेल उत्पादन गर्छ । पाकिस्तानमा व्यापार घाटा १८ अर्ब डलर पुगेको छ । पाकिस्तानले पछिल्लो समय चीन र साउदी अरबसँग समेत आर्थिक सहयोग लिएर अर्थव्यवस्था सुधारको पक्षमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: