गाउँपालिका अध्यक्षका छोराद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की « Nagarik Khabar

गाउँपालिका अध्यक्षका छोराद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की



कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्षका छोराले पत्रकार रमेश रावललाई ज्यान मार्ने धम्की दिएका छन् । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टका छोरा विशाल बिष्टले पत्रकार रावललाई सोमवार दिउँसो फोन गरि ज्यान मार्ने धम्की दिएका हुन् ।

बिष्टले रावलको पहिले समाचार लेख्ने हात काट्ने र पछि ज्यान मार्ने धम्की दिएका हुन् । गाउँपालिकाको गाडी दुरुपयोग गरेको भन्ने समाचार लेखेको भन्दै अध्यक्षका छोराले आफूलाई फोन गरि ज्यान मार्ने धम्की दिएको पत्रकार रावलले जानकारी दिए ।

‘केन्द्रको सरकार पनि आफ्नो पार्टीको भएको र स्थानीय सरकार पनि आफ्नै पार्टीको भएकाले जुनसुकै बेला पनि मार्ने धम्कि दिए,’ उनले भने । पत्रकार रावलले सोमबार नै सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको जानकारी दिए । पत्रकार रावल नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेका साथमा सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

यसैबीच गाउँपालिकाका अध्यक्षका छोरा बिष्टले धम्की दिएको स्वीकारेका छन् । उनले समाचारको खण्डन गर्न भन्दा पनि पत्रकारले गलत समाचार लेखेका कारण आफूले धम्की दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: