मुगु । जिल्लाको मुगम कार्मारोङ गाउँपालिका–६ रिउस गाउँका एक वृद्ध ६ वर्षदेखि ओडारमा बस्दै आएका छन् । ६५ वर्षीय कार्मा तामाङ घर परिवारमा एक्लै भएपछि रिउस बगरमा रहेको ओडारमा बस्ने गरेका हुन् । वर्षातका वेला पानी परेर चुहिने समस्या, हिउँदमा चिसोले कठ्यांग्रिएर कैयौँ रात नसुतेको उनी बताउँछन् ।
कार्मा तामाङसँग परिवार, घरजग्गा, सम्पत्ति सबै थियो । तर, अहिले बुढेसकालमा सहारा दिने कोही छैनन् । सोहीकारण, उनले ओडारको वास रोजेका हुन् । ‘दुईवटी श्रीमती बिहे गरेँ, चारवटी छोरी जन्मिए, तर चारैवटी छोरी र एक श्रीमतीको मृत्यु भयो, अर्कीले छाडेर गई,’ तामाङले भने । घरसमेत नहँुदा ओडारमै वर्षौँ बितेको छ । ‘गाउँमा जग्गा, घर र अन्य सम्पत्ति थियो, तर परिवार नहुँदा उदास मनले ओडार रोजेको हुँ,’ उनले भने, ‘सबैले छाडेर गएपछि जिन्दगी दुखै–दुःखमा बाँचिरहेको छु, ओडारमा पानी चुहिन्छ, जंगली जनावरको समेत डर हुन्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकासित भएको छ ।