२४ औं पटक सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोही « Nagarik Khabar

२४ औं पटक सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोही



काठमाडौं । कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन् । मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन् । एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन् ।

उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्। आजको आरोहणसँगै ४९ वर्षीय कामीरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन् । साहसिक आरोही ‍कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन्।

यस अघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उनकै नाममा थियो । सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामीरिताको २५ पटक सगरमाथाको शिखर चुम्ने लक्ष्य छ ।

सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका ४९ वर्षीय कामरीताले सन् १९९४ मा पहिलोपटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए । उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरिसकेका छन् । दाजु लाक्पारिताले भने आरोहणबाट विश्राम लिइसकेका छन् ।

थामे प्राविमा कक्षा ४ सम्म पढेका कामरिता हाल काठमाडौको बौद्धमा बस्छन् । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु–५ थामेका कामीरिताले २३ औं पटकको आरोहणपछि पुनः यही सिजनमा आरोहण गर्ने बताएका थिए ।

को हुन कामीरिता ?

सोलुखुम्बूको हालको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा जन्मेका ४९ बर्षीय कामिरिताले २०५१ अघि २२ बर्षकै उमेरमा दुईपटक चुचुरोमा पुग्ने प्रायस गरेका थिए । तर उनी त्यसबेला दुईपटक नै असफल भएका थिए । आफ्ना माइला भिनाजु र दाइको लहलहैमा पर्वतारोहणमा लागेका उनी २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक चुचुरोमा पुग्न सफल भए । त्यसयता उनले आजसम्म गरी २४ पटक सगरमाथा अरोहण गरेका छन् ।

जसमध्ये उनले १ पटक तिब्बतबाट आरोहण गरेका थिए । काठमाडौंको बौद्धमा बस्दै आएका कामिरिताले २०६५, ०६९ र ७० सालको वसन्तकालिन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरेका थिए । तर, ०६९ सालको दुईपटकको उनको चुचुरोसम्मको यात्रामध्ये एउटाले मात्रै सरकारी मान्यता पाएको थियो । उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण अहिले विश्राम लिइरहेका छन् । उनीहरुको परिवारनै हिमाल आरोहणमा संलग्न छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: