पाँचथर । पाँचथरमा दुई परिवारका ९ सदस्यको हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको पाँचथर प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले नागरिक खबरलाई जानकारी दिए ।
उनका अनुसार स्थानीय धनराज शेर्माको घरमा पाँच जना र अर्को छिमेकीको घरमा चार जनाको हत्या भएको हो । ‘मसहित घट्नास्थल जाँदैछौ त्यहाँ हाम्रो स्थानीय टोली पुगिसकेको छ’, डिएसपी कुँवरले भने ।
हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।